१ सय ४० व्यक्तिको सम्पत्तिमाथि छानबिन

काठमाण्डौं, साउन ९ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त नविन घिमिरेले सार्वजनिक पद धारण गरेका विभिन्न एक सय ४० व्यक्तिको सम्पत्तिमाथि छानबिन भइरहेको बताएका छन् ।

दैनिक र अनलाइन पत्रिकाका सम्पादकहरूसँग आयोगले बुधवार आफ्नै कार्यालयमा आयोजना गरेको अन्तरक्रियामा बोल्दै प्रमुख आयुक्त घिमिरेले उक्त जानकारी दिएका हुन् ।

उनका अनुसार स्रोत नखुलेको, हैसियतभन्दा अस्वभाविक र अवैध तवरबाट सम्पत्ति जोडेको उजुरीका आधारमा त्यस्तो अनुसन्धान शुरू गरिएको हो । अकूत सम्पत्तिमाथिको अनुसन्धानलाई विगतमाभन्दा थप व्यवस्थित, वैज्ञानिक र व्यवहारिक बनाइएको घिमिरेले बताए ।

‘प्राप्त उजुरीमाथि पहिलो चरणको अनुसन्धान हुन्छ, पहिलो चरणको अनुसन्धानबाट थप अनुसन्धान गर्नुपर्ने देखियो भने मात्र कुनै फाइलमाथि विस्तृत छानबिन शुरु हुन्छ,’ घिमिरेले भने, ‘छानबिनलाई सकरभर गोप्य राख्ने र मुद्दा चल्ने अवस्थामा पुगेपछि मात्र सम्बन्धित व्यक्तिलाई बयानका लागि पत्र पठाएर बोलाउने नयाँ परिपाटी शुरू गरेका छौं ।’

उनले छानबिनका नाममा अनावश्यक रूपमा दुःख दिने, त्रसित बनाउने वा बढी हल्लाखल्ला गर्ने गतिविधि निरुत्साहित गरिएको बताए । आयोगबाट विगतमा भएका कमजोरीलाई नदार्होयाउने र राम्रा पक्षलाई निरन्तरता दिने गरी काम कारवाही अघि बढाइएको घिमिरेको दाबी छ ।

नीतिगत भ्रष्टाचारका विषयमा अनुसन्धान गर्न कठिनाई रहेको उनले स्वीकारे । सार्वजनिक खरिदसँग जोडिएका विषयमा नीतिगत निर्णय गराउन हुँदैन भनेर आफूले पटक(पटक सरकार र संसदको ध्यानाकर्षण गराएको उनले बताए । विद्यमान संविधान र कानूनअनुसार मन्त्रिपरिषद्ले गरेका नीतिगत निर्णयमा अख्तियारले छानबिन गर्न सक्दैन, घिमिरेको संकेत त्यसैतर्फ थियो ।

उनले अकूत सम्पत्ति छानबिनका लागि यसअघि बनाइएको १३ पन्ने फारममा परिमार्जन गरिएको र पेज संख्या पनि १६ पुर्याइएको जानकारी दिए ।