१ करोड ठगीमा कास्कीबाट समातिए प्रहरी हवल्दार

पोखरा, चैत १४ ।
१ करोड रुपैयाँ ठगीको आरोपमा पोखराबाट प्रहरी हवल्दार पक्राउ परेका छन् । पोखरा लेखनाथ महानगरपालिका १८ सराङकोटस्थित प्रहरी चौकीमा कार्यरत प्रहरी हवल्दार सुमन अधिकारी पक्राउ परेका हुन् । गोर्खा आरुपोखरीका ३५ वर्षीय अधिकारीमाथि कास्कीको माछापुच्छ्रे ९ माईती घर भई दाङसिमराङ बस्ने टोपली भनिने निशा परियारसँग मिलेर ब्याजमा पैसा लिएको र फिर्ता नदिएको आरोप छ । श्रोतका अनुसार उनीहरु श्रीमान श्रीमति हुन् । अधिकारी र परियारलाई वाईसीएल कास्कीका बरिष्ठ उपाध्यक्ष एञ्जल्स कार्की र अनुशासन विभाग प्रमुख लक्ष्मण अधिकारी सहितको टोलीले नियन्त्रणमा लिएर मंगलबार कास्की प्रहरीलाई बुझाएका छन् ।
उनहरुलाई जिल्ला प्रहरी कार्यालय कास्कीमा राखेर अनुसन्धान भइरहेको कास्कीका प्रहरी प्रमुख प्रहरी उपरिक्षक अशोक सिंहले बताए । ठगिएकाहरुले आफ्नो रकम फिर्ता गराईदिन प्रहरीलाई आग्रह गरेका छन् । यद्यपि उनीहरुले किटानी जाहेरी भने दिएका छैनन् । जाहेरी भए कानुनअनुसार कारबाही हुने र सहमति भए सहमति गरेर विभागिय कारबाही मात्रै हुने सिंहको भनाई छ । हालसम्म ९ जनाले आफूहरु ठगिएको बताएका छन् । मौखिक शर्तका आधारमा पैसा दिएको तर प्रमाण नभएको उनीरु बताउँछन् ।
शुरुमा टोपली भनिने निशाले चिनजान गर्ने र दोस्ती बढ्दै गएपछि पैसा ब्याजमा माग्ने गरेको र पैसा दिन आनाकानी गरे हवल्दार अधिकारी गएर फिर्ता नदिए मै दिन्छु भन्दै पैसा दिन बाध्य पार्ने गरेको ठगिएकाहरुको भनाइ छ । कागज गरेर मात्र दिन्छु भन्दा हवल्दार अधिकारीले पैसा कागजले दिने हो र ? हामीले दिन्छौं भनेर दवाब दिनेगरेको उनीहरुले बताएका छन् । अधिकारी र परियारले सयकडा ३ रुपैयाँ ब्याज दिने भनेर लोभ्याउने गरेको उनीहरुले बताएका छन् । पैसा तिर्ने भाका नाघेपछि भने सम्पर्कमा आएका थिएनन् ।