१८ बर्ष पुगेपछि गाडी देखें, त्यसैले मेसिन गाडीसँग डर लाग्छ–दयाहाङ राई

पोखरा, पुस ९ ।
दयाहाङ राई, नेपाली चलचित्रमा निकै रुचाईएका अभिनेता । उनले फिल्मी हिरोमा चाहिने खास खास टाईटलहरु नै चेन्ज गरिदिएका छन् । उनी पछिल्लो समय नेपाली चलचित्रमा अब्बल सावित भैरहेका छन् । खास हँसिलो पाराले मनभित्रको पीडा पोख्न सक्ने उनको खुवीलाई सबैले मन पराउँछन् । चलचित्र र बास्तविक जीवनमा के फरक रहेछ ? पोखराको फेवाताल किनारमा चलिरहेको लिटरेचर फेस्टिभलमा लेखक बुद्धी सागरले उनीसँग कुराकानी गरेका छन् । प्रश्तुत छ सोही कुराकानीको सम्पादित अंश–

 

कवि हुन हिडेको मान्छे । काठमाण्डौंमा छिर्दा धेरै यूवा हिरो हुन छिर्छन् । तिमी कवि हुन छिरेछौ । तिमीलाई हिरो हुन्छु भन्ने लागेन ? अनि कविको यात्रा चाहीँ कहाँ पुगेर टुंगियो ? र तिम्रो कलाकारीता चाहीँ कसरी सुरु भयो ?

शहर हेर्ने सपना नै थियो क्यार । जुन एसएलसीमा पुगेर टुंगियो । एकैचोटीमा एसएलसी पास गरेको भए सायद कुनै शहरमा पुगेर पढ्थें होला । म बुद्धु विद्यार्थी पनि होईन । त्यो मेरो दुर्भाग्य हो । स्कुलमा म सँधै फोर्थ हुन्थें । अनि मेरो नाम पनि फस्र्ट डिभिजन ल्याउने विद्यार्थीको सूचीमा थियो । तर विज्ञान भन्ने बिषय लागेर म फेल भएछु । यस्तो समयमा म फेल भएँ कि । त्यतिबेला रिजल्ट असारमा आउँथ्यो । जुन समयमा मेरो बुबा र म खेतको आली कोट्याईरहेका थियौं । त्यतिबेलै रिजल्ट लिएर मेरो भाइ, जो मेरो स्कुलको फस्र्ट ब्वाई थियो । उ दौडिँदै निराश मुख लिएर आयो ।

रिजल्ट आयो नि भन्यो । उसले रिजल्ट सुनाउनु भन्दा पहिले नै मैले उसको मुख हेरेर म फेल भएँ भन्ने थाहा पाईसकेको थिएँ । म फेल भएँ । मलाई अंग्रेजी बिषय लाग्यो होला भने सोचेको थिएँ । अंग्रेजीमा मलाई पहिले देखि नै बिगार परेको के । पक्कैपनि मलाई त्यै बिषय लाग्यो होला भन्ने सोचें । त्यो बर्ष मैले यति धेरै खेतको आलिहरु कोट्याएँ । त्यतिबेलै मलाई भावनाले कविता लेख्न मन लाग्यो होला ।

पछि हेर्दा विज्ञान विषय लागेको रहेछ । जीन्दगीमा ल्याउन नसकेको ५३ नम्बर मैले अंग्रेजीमा ल्याएछु । त्यतिधेरै कहिल्यैपनि आएको थिएन । त्यसपछि म निकै खुशी पनि भएँ । अर्को बर्ष विज्ञान विषय मात्रै परीक्षा दिएर पास भएँ । परीक्षा दिन एक बर्ष कुर्नुपथ्र्यो । एक बर्षमा धेरै हुटहुटी चल्यो मेरो मनमा । बाउआमाले तैंले पास गरेको भए तँ बिराटनगर पढ्न जान्थिस । नभए काठमाण्डौं नै पो जान्थिस की । के गर्नु राम्रो पढ्न सकिनस् । भन्नुभयो ।

म त्यतिकै अलमलिएँ । रेडियो धेरै सुन्थें । रेडियोमा धेरै कविताहरु सुन्ने र लेख्न पनि मन पथ्र्यो । सायद आफ्नो दुखसँगैको कुराहरु भन्न मन लाग्थ्यो । कविता चाहीँ त्यही दुख भन्ने माध्यम थियो । तर त्यसपछि पनि सदरमुकाम गएर कलेज भर्ना भएँ । त्यतिबेला मैले अर्को अचम्मको यात्रा गरेँ । मैले १७ बर्ष पार गरेर झण्डै १८ लाग्दै गर्दा पहिलोपल्ट प्रत्यक्ष रुपमा गाडी देखेँ । जुन चतारा भन्ने ठाउँ छ, दुई दिन हिडेर गएपछि त्यहाँ पुगिन्छ । त्यो ठाउँमा पहिलोपल्ट गाडी देखें र गाडी चढेर म धरान हुँदै दमक फुपुको घरमा पुगें ।

त्यो भन्दा पहिले सिनेमा र टिभीमा मात्रै गाडी देखेको । त्यसपछाडी मैले जोयोग्राफी लिएर पढें । त्यसकै रिपोर्ट बनाउन म बागलुङ पुगें । मैले नै त्यो ठाउँ छानेको थिएँ, आसपासमा पोखरा पनि पर्छ रे भन्ने सुनेर । त्यसपछि म दमक पुगेर १–२ महिना गाडीको संगत गरेर आईसकेपछि पोखरा, बागलुङ पुगेर फर्कें । जोयोग्राफी पढेर पनि मेरो मापनले अझै भ्याएन रछ काठमाण्डौं कहाँ पर्छ भनेर । मुग्लीनमा पुगेर मैले भाइलाई फोन गरें, काठमाण्डौंमा काकाकाकी हुनुहुथ्यो । काठमाण्डौं अलि सजिलो थियो तर त्यहाँ जाने आँट थिएन । फेल भएका मान्छेहरु काठमाण्डौं जान सक्दैनन् होला भन्ने ठान्थें । मेरो भाइले आईज यहीँ बसेर केही गर्नुपर्छ भन्यो । तर मनले मानेन, टाढै होला काठमाण्डौं सोचें, म फर्किएर गाउँ गएँ । धेरै पछि भाइ भोजपुर आयो । दशैंमा आएको बेला पछि लागेर काठमाण्डौं गएँ ।

काठमाण्डौं आउँदाखेरी सबैभन्दा तान्ने कुरा चाहीँ के हो भने–कथा, कविता, के के कुराहरु लेखेको थिएँ । मलाई लाग्थ्यो कि सबै कुराहरु इमाजिन गरेर मात्रै हो । केही देखेकै थिईन । त्यो कुरा पनि थाहा पाउनुपर्छ भन्ने लागेर काठमाण्डौं आएको हो । आफ्नो भन्ने कुराहरु खोज्दै जाँदा धेरै संगतहरु गरें । मैले बुद्धी (बुद्धीसागर) लाई भेटें । बिजय बिस्फोट सरकोमा भेट्दा उसले एकेडेमीबाट गोल्ड मेडलिस्ट पनि भैसकेको थियो । म त्यसरी चिन्थें । मलाई त्यतिबेला के गर्व लाग्थ्यो भने एउटा कवि पनि एक्टर बन्न आको छ । म एक्टर चाहीँ कतिबेला भैसकेको थिएँ भने–कविताहरु लेख्थें तर सुनाउन सक्दिन थें । आफैँले लेखेका कुराहरु चित्त पर्दैनथ्यो । लेख्ने तर सुनाउन नसक्ने । एकदिन बुद्धीसागर र म एउटै मञ्चमा कविता भन्न गयौं, बुद्धीसागर भन्दा म पहिले भन्छु भनेर रिक्वेस्ट गरें पनि । तर उसले हतार छ भनेर कविता सुनाईवरी गयो । त्यसपछि मलाई मेरो कविता सुनाउनै मन लागेन । उठेर हिडें । त्यो दिनदेखि मैले कविता लेखिनँ ।

मान्छे के बन्ने भनेर जुन सपना हुन्छ नि, जुन ठाउँमा घाम नै अवेर लाग्छ, त्यो ठाउँमा मैले सपना नै देखिन होला के । धमिलो, के के हो के के । मलाई लाग्थ्यो, त्यहाँ पढेर प्राविको एउटा राम्रो टिचर हुन्छु जस्तो । तर मान्छेले आफ्नो नाम त खोज्दो रछ । नाम खोज्नकै लागि कुदें होला सायद । जाँदाखेरि नाटक लेख्नुपर्छ होला जस्तो लाग्थ्यो । नाटक सिक्नको लागि नाचघरमा पुगेको थिएँ । खगेन्द्र लामिछानेलाई भेटें । त्यतिबेला पोखराकै हाम्रो अनुप सरले एउटा कार्यशाला दिनुभएको थियो । त्यसमा प्रकाश घिमिरे दाइ, म र खगेन्द्र थियो । उ त्यतिबेला आफुँलाई खगेन्द्र लामिछाने भन्दा पनि विभक्त लामिछाने हुँ भनेर परिचय दिन्थ्यो । उसले त्यतिखेर उपन्यास पनि लेखेको थियो, मलाई सुनाउँथ्यो ।

अनि उसबाट धेरै प्रभावित हुँदै, राईटर बन्न कार्यशाला गएको मान्छे अभिनेता भएर निस्कें । यसबाटै म चेन्ज भएँ । सँगतले नै होला सायद । घरिघरि सम्झिन्छु, मलाई के कुराले यस्तो बनायो भनेर । म हरेक कुराहरु खोजिरहेको रछु । खोज्थें तर पाउँदिनथें सायद । र मैले मान्छेको हुटहुटी एक ठाउँमा पुगेपछि ठ्याक्कै भेटिन्छ भन्ने लाग्यो । अभिनय गरेर मेरा कुरा भन्न सक्छु कि जस्तो लाग्यो अनि लेखेर भन्दा पनि शरिरले आफ्ना कुराहरु ब्यक्त गर्न थालें ।

दया, तिमी कलाकार । तिमिलाई बाईक चाहिन्छ । यत्रो समयसम्म पनि बाईक किन चढेनौं । खास कारण के हो ?

आँट भएको भए त चढिहाल्थें नि । मेरो उमेरको त्यो समय, १८ बर्षसम्म गाडीसँग, बाईकसँग, साइकलसँग सम्बन्ध गरिनँ । त्यसपछि मलाई आँटै आएन । त्यो ज्यामराज नै लाग्थ्यो मेरो लागि । फिल्महरुमा बाइक चढ्न नसकेकै कारण डाइलगहरु चेन्ज गरिएको छ । पूरानो डुंगामा चाहीँ बाइक चढ्नैपर्छ भनेपछि म सिक्न गएं । तर मेरो एकदमै मिल्ने साथी रवीन पाण्डेको दुर्घटनामा परेर मृत्यु भयो, त्यो दिनदेखि मलाई एकदमै डर लाग्छ । स्वयंपनि दुई पटक सानोतिनो दुर्घटनामा परेको छु । जव सिक्न लगेँ । जानिनँ । अनि अर्कै मेसिन जोडेर फिल्ममा सिन निकालियो । घोडासँग चाहीँ बरु मलाई डर लाग्दैन । त्यो त जनावर हो नि, श्वास फेर्छ । मेसिनलाई त के भन्नु ?

फिल्ममा त रुन्छौ तिमी । सिनेमा हेर्दा पनि रुन्छौ होला । तर ब्यक्तिगत जीवनमा कत्तिको रुन्छौं ? कुनै पीडादायी क्षण भयो भने मुक्ती कसरी पाउँछौं ?

नरुने मान्छे त को नै होला र ? तर म मेरो आँशु लुकाउन चाहान्छु । किनभने मेरो परिवारको सबैभन्दा जिम्मेवार मान्छे । म रोएँ भने त मेरो परिवार कमजोर हुन्छ नि । म रुने अवस्था आयो भने एकान्तमा रुन्छु । त्यस्तो हरेक मान्छेले गर्छन् जस्तो लाग्छ । तर सिनेमा हेर्दाखेरि पहिलेपहिले त धेरैपटक रोएँ । अचेल त एक्टिङ गर्दिन्छु । म एक्टर हो नि त ।

Photo-Yunish Gurung/Photo Journalist