१४ महिनापछि पक्राउ परे पोखराका वडा कार्यालयमा चोरी गर्ने थापा

पोखरा, साउन २९ ।
गएको बर्ष जेठ २ गते पोखरा १२ माटेपानीमा रहेको वडा कार्यालय चोरियो । १ थान कम्प्युटर र ७ सय रुपैयाँ कार्यालयको ताला फोडेर लगेपछि वडाध्यक्षले प्रहरीलाई जानकारी गराए । तर चोर पत्ता लागेन । प्रहरीले पनि खासै चासो दिएर घटनाको अनुसन्धान गरेन ।

त्यहीबर्षको साउन २७ गते पोखरा १५ को वडा कार्यालय फोडियो । भोलिपल्ट कार्यालय समयमा ढोका खोल्दा १ थान मोनिटर र दान पेटिकामा रहेको १० हजार रुपैयाँ थिएन । त्यो उजुरी पनि प्रहरीमा गयो । त्यतिबेलासम्म पनि प्रहरीको अनुसन्धान चाखलाग्दो भएन । चोर पत्ता लाग्ने कुरै थिएन ।

मंसिर २९ गते पोेखरा १४ मा चोरि भयो । २ सेट कम्प्युटर चोरियो । त्यसपछि प्रहरीको टाउको दुखाई बन्यो । निरन्तर ११ वटा वडा कार्यालयमा चोरी भयो । वडा कार्यालयको राजश्व सम्बन्धि तथ्यांक भएका कम्प्युटर चोरी भएका कारण धेरैले डाटाचोरीसँग जोडेका थिए ।

चोरले विभिन्न समयमा पोखरा २९, ५, १३, १६, १९, ३१, २५ र अन्तिममा ६ नम्बर वडा कार्यालयको कम्प्युटर चो¥यो । प्रहरीलाई यसले तनाव नै बनायो । श्रृंखलाबद्ध रुपमा कम्प्युटर र राजश्व केन्द्रीत चोरी भएपछि टाउको दुखाई बन्नु स्वभाविक पनि हो । त्यसपछि प्रहरीले अनुसन्धानलाई गहिरोगरी अघि बढायो । विषेश टोली परिचलान भयो । १४ महिनासम्मको चोरी श्रृंखला अन्ततः विफल पारिदियो र चोरीमा संलग्नलाई पक्राउ गरिछाड्यो । योसँगै धेरैको आंशका पनि प्रहरीले मेटाईदिएको छ ।

साउन २६ गते पोखराको शहीदचोकबाट ५१ बर्षिय किशोर थापा पक्राउ परे । थापाले पोखरामा चोरी भएका सामान काठमाण्डौ लगेर बेच्ने गरेको अनुसन्धानले देखाएको छ । थापाले चोरी गर्दा प्रयोग गर्ने सामान सिसिटीभी क्यामेरामामा देखिएको हुलिएका आधारमा उनलाई पक्राउ गरिएको हो । थापाले लगाएको जुत्ता, टोपी, टिसर्ट, ज्याकेट र मास्कका आधारमा कोठामा खानतलासी गर्दा चोरीको प्रमाण भेटिएको थियो ।

काठमाण्डौं घर भएका उनी लामो समयदेखि पोखरा १० कालिकाचोकमा डेरा गरि बसिरहेका थिए । ‘श्रृंखलाबद्ध रुपमा भएको चोरीले हामीलाई मात्रै होईन धेरैलाई चिन्ता थियो । चोर पत्ता लगाउन नसक्दा हामीलाई लाज लाग्थ्यो,’ कास्की प्रहरी प्र्रमुख एसपी दानबहादुर कार्कीले भने, ‘राजनीतिक, आर्थिक, सामाजिक वा आपराधिक के हिसावले चोरी भएको छ भनेर गहन अध्ययन गर्न थाल्यौं । सिसिटिभी फुटेजका आधारमा चोर पक्राउ परेको हो ।’

थापा यसअघि पनि दुई पटक सम्म डाँकाचोरी मुद्धामा लामो समय जेल बसेर निस्किएका अनुसन्धानबाट खुलेको छ । पहिलो पटक २०४६ देखि ०५१ सम्म र दोश्रो पटक २०७१ देखि ०७४ सम्म जेल सजाएँ पाएका थिए । खासगरी सुरक्षा गार्ड नभएका ठाउँमा उनले चोरी गर्ने गरेका तथ्यले देखाउँछ ।

थापासँगै चोरीका सामाग्री खरिद गर्ने काठमाण्डौं कलंकीका कम्प्युटर पसले पनि पक्राउ परेका छन् । मकवानपुर घर भई कलंकीमा पसल गरिआएका रुपचन्द्र गोपालीलाई पनि कास्की प्रहरीले समातेर ल्याएको छ । दुवैजनालाई बुधबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरिएको हो । उनीहरुको साथबाट मनिटर १७ थान, सिपियू ९ थान, ल्यापटप ३ थान बरामद गरिएको छ ।

थापाले खासगरी राती साढे ११ देखि साढे १२ बजेको समयमा चोरी गर्ने गरेको पाईएको छ । ‘अरु सुतेपछि कुकुर नभएको ठाउँमा चोरी गरेको पाईयो । रडले ढोका फोरेर सामान चोरी गर्ने र निर्माणाधीन घरहरुमा लगेर राख्ने गरेको देखियो,’ एसपी कार्कीले भने, ‘भोलिपल्ट जेब्रा झोलामा हालेर काठमाण्डौं पु¥याउने र गोपालीको पसलमा लगेर बेच्ने गरेको तथ्य फेला परेको छ ।’ उनलाई साउन २६ गते नै डाँकाचोरी मुद्धामा जिल्ला अदालत कास्कीबाट म्याद थप गरेर अनुसन्धान सुरु गरिएको जिप्रका कास्कीले जनाएको छ ।

Photo-Sudarshan Ranjit