१३ गते भाइटिका लगाउने नेवार समुदायको निर्णय, १२ गते नेपाल संवत भिन्तुना र्याली

 

पोखरा, असोज ३० ।

नेवा खलः कास्कीको बैठकले यसपटकको नेपाली पात्रोमा तिहारको तिथीमा त्रुटी रहेको भन्दै १३ गते भाइटिका पुजा गर्ने निर्णय गरेको छ । खलले यस वर्षको तिहारको तिथिमा नेपाल पञ्चागं निर्णायक समितिले नेवारहरुले मान्दै आएको नेपाल संवत् र म्हः पुजाको दिन पात्रोमा गडबड भएको बताएको छ । यसका अलावा औंसीको दिनमा गरिने गाइपुजा तथा लक्ष्मी पुजा पनि औंसीको दिनमा नरहेकोले गडबडी पुष्टी भएको खलःका अध्यक्ष अशोक पालिखेले बताए ।

नेपाल पञ्चागं निर्णायक समितिका अनुसार यसपटक यमपञ्चकका रुपमा मनाइने तिहारको पहिलो दिन कार्तिक ९ गते काग तिहार, १० गते कुकुर र लक्ष्मी तिहार रहेको छ । ११ गते औंसीका दिन भने म्हपूजा र १२ गते न्हु दँ (नयाँ वर्ष) नेपाल सम्वत ११४० र भाइटिका रहेको छ । यी तिथिहरु नेवार समुदायले मनाउँदै आएको स्वन्ति नखः भन्दा ठीक विपरीत छन् ।

पालिखेले नेवार समुदायलाई समितिले प्रकाशित गरेको पात्रोको आधारमा नभइ परापूर्वकालदेखि चल्दै आएको परम्परालाई निरन्तरता दिँदै ’स्वन्ति’ मनाउन नेवार समुदायलाई आह्वान गरेको छ । जसअनुसार, नेवार समुदायले औंसीकै दिन कार्तिक ११ गते मात्रै लक्ष्मी पूजा गर्न आग्रह गरिएको छ । पात्रोमा भाइटिका रहेको प्रतिपदाको दिन कार्तिक १२ गते नेपाल सम्वत र म्हपूजा मनाएर मात्रै द्धितियाको दिन कार्तिक १३ गते बुधवार भाइटीका मनाउने पनि खलः ले निर्णय गरेको छ । ‘नेपाल भाषा मंका खलले पनि देशभरका नेवार समुदायलाई यहि अनुरुप गर्न आग्रह गरेको छ ।’ पालिखेले भने ‘शताब्दी पुरुष सत्यमोहन जोशीले पनि परम्परागत रुपमै चल्दै आएको स्वन्तीलाई निरन्तरता दिन आग्रह गरेको हुनाले हामी सोही मुताविक नै गर्दैछौं’ ।

नेवा खलः कास्की अन्र्तगतका सम्पुर्ण कचा खलः (शाखा) हरुलाई पत्राचार नै गरेर निर्णय मुताविक गर्न अनुरोध गरेको छ । १३ गते भाइटिकाको दिन सार्वजनिक विदाका लागि गण्डकी प्रदेश सरकारसंग आग्रह गरिने पालिखेले जानकारी दिए ।

संस्कृतिकर्मी कृष्णबहादुर श्रेष्ठले नेवार समुदायले कौलागा औंसीको दिनमा लक्ष्मी पूजा गर्दै त्यसको भोलिपल्ट कछलाथ्व प्रतिपदाका दिन ’न्हू दँ’ नेपाल सम्वत तथा साँझ आत्मपूजा स्वरुप ’म्हपूजा’ गर्ने परम्परा रहेको बताए । उनले त्यसको भोलिपल्ट कछलाथ्व द्वितिया अर्थात् नेपाल सम्वतको दोस्रो दिनमात्रै भाइटिका मनाउँदै पर्सिपल्ट लक्ष्मीको फूल बिसर्जन गर्दै प्रसाद ग्रहण गर्ने जानकारी दिए ।

१२ गते नेपाल संवत ११४० को स्वागतार्थ भिन्तुना र्याली आयोजना गरिने भएको छ । भिन्तुना र्याली पोखराको न्युरोडबाट शुरु हुनेछ । बिभिन्न जातजातीका झाँकी तथा नेवारी साँस्कृतिक नृत्य र झाँकीका साथ शुरु हुने यो र्याली पोखराका मुख्य बजार परिक्रमा गरि नेवा छेँ भिमसेनटोलमा पुगेर शुभकामना सभामा परिणत हुनेछ ।