१३ औं सागको भोली उद्घाटन हुँदै, ५ बजे सुरु हुने समारोह ३ घण्टा चल्ने

 

काठमाडौं, मंसिर १४ ।

१३ औं दक्षिण एसियाली खेलकुद सागको भोली उद्घाटन हुँदैछ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा राष्ट्रपति विद्या भण्डारीले उद्घाटन गर्ने कर्याक्रम रहेको छ ।

साँझ ५ बजे सुरु हुने समारोह तीन घण्टा चल्ने बताइएको छ । सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालको नेतृत्वमा गठन भएको समारोह समितिले हिजो बेलुकी सागको उद्घाटन अभ्याससमेत गरिसकेको छ ।

उद्घाटन समारोहका लागि दशरथ रंगशालामा विशेष साजसज्जा गरिएको छ ।

दक्षिण एसियाका सात राष्ट्र नेपाल, भारत, पाकिस्तान, भुटान, बंगलादेश, माल्दिभ्स र श्रीलंकाले प्रतिष्पर्धा गर्ने प्रतियोगिताको उद्घाटन समारोहमा नेपाली कला संस्कृति झल्कने झाँकी प्रस्तुत हुने बताइएको छ ।

यसका लागि एक हजार भन्दा बढी कलाकारले तयारी गरिरहेको सशस्त्र प्रहरीले जनाएको छ ।

कलाकारले सहभागी देशका खेलाडी र पदाधिकारीको स्वागतमा सम्बन्धित देशकै गीतमा नृत्य गर्नेछन् भने प्रत्येक खेलाडी र पदाधिकारीले आफ्नो देशको झण्डासहित मार्च पास गर्ने बताइएको छ ।

सागका २८ खेलमध्ये आठ खेल पोखरामा र कुस्ती जनकपुरमा हुने आयोजकले जनाएको छ ।

मंसिर २४ गतेसम्म चल्ने प्रतियोगितामा सात देशका खेलाडी, पदाधिकारी र प्राविधिकसहित ६ हजार भन्दा बढीले सहभागीता जनाउने बताइएको छ ।
(ईमेजखबरबाट साभार)