१३ औं सागको एथ्लेटिक्समा नेपाललाई ऐतिहासिक सफलता

 

काठमाडौं, मंसिर २१ ।

१३ औं सागको एथ्लेटिक्समा नेपालले ऐतिहासिक सफलता हासिल गरेको छ ।

नेपालले एथ्लेटिक्समा तीन वटा स्वर्णपदक जितेको छ । एथ्लेटिक्सको अन्तिम दिन शनिबार नेपालले म्याराथनमा स्वर्णपदक जितेको हो ।

नेपाललाई २४ वर्षपछि म्याराथनमा स्वर्ण दिलाउने क्रममा किरण सिंह बोगटीले उक्त सफलता हासिल गरे । किरणले निर्धा्रित दूरी २ घण्टा २१ मिनेट १७ सेकेण्डमा पूरा गर्दै स्वर्ण जितेका हुन् ।

भारतका रासपाल सिंहले २ घण्टा २१ मिनेट ५७ सेकेण्डमा दूरी सकाउँदै रजत तथा २ घण्टा २२ मिनेट ७ सेकेण्डमा दूरी पूरा गर्दै भारतकै श्रे सिंहले कास्य जिते ।

नेपालका लागि यसअघि म्याराथनमा बैकुण्ठ मानन्धरले लगातार तीन पटक म्याराथनको स्वर्णपदक दिलाएका थिए । उनले २ घण्टा १५ मिनेट ३ सेकेन्डको राखेको कीर्तिमान अहिलेसम्म सागमा कसैले तोड्न सकेका छैनन् ।

महिला म्याराथनको स्वर्णपदक श्रीलंकाकी हेरुनी केशराले जितिन् । उनले निर्धा्रित दूरी २ घण्टा ४१ मिनेट २४ सेकेण्डमा पूरा गर्दा रजत पदक जितेकी नेपालकी पुष्पा भण्डारीले २ घण्टा ५० मिनेट ११ सेकेण्डमा पूरा गरिन् ।

भारतकी ज्योती गवाटेले कास्यपदक जितिन् । अन्तिम दिन आठ सय मिटर दौडमा सोमबहादुर कुमालले नेपाललाई कास्यपदक दिलाए ।

यसअघि नेपालका लागि गोपीचन्द्र पार्कीले पुरुष पाँच हजार मिटर दौडमा र सन्तोषी श्रेष्ठले महिला १० हजार मिटर दौडमा स्वर्णपदक जितेकी थिइन् ।

त्यस्तै पाँच हजार मिटर दौडमा हरि रिमाल र १० हजार मिटरमा दीपक अधिकारीले कास्यपदक जितेका थिए ।

समग्रमा नेपालले एथ्लेटिक्सबाट ३ स्वर्ण, १ रजत र ३ कास्यपदक जितेको छ ।
(ईमेजखबरबाट साभार)