१३औं ‘साग’ आज सकिँदै, डेढ घन्टाको वीरताको गाथा समेटिएको विशेष ‘प्याकेज’

 

काठमाडौं, मंसिर २४ ।

१३औं दक्षिण एसियाली खेलकुद (साग) मंगलबार सम्पन्न हुँदैछ ।

यही मंसिर १५ गतेदेखि काठमाडौं, पोखरा र जनकपुरमा चलेको साग मंगलबार साँझ दशरथ रंगशालामा विशेष समापन कार्यक्रमको आयोजना गरी सम्पन्न भएको घोषणा गरिनेछ ।

मध्याह्न १२ बजे सांसदहरुसँग विशेष फुटबल खेल्ने र दिउँसो ३ बजेदेखि पुरुष फुटबलको फाइनल खेल भएपछि विशेष समापन कार्यक्रम गरिने राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्यसचिव रमेशकुमार सिलवालले जानकारी दिए ।

उनले मंगलबारै नै खेलाडीहरुका लागि विशेष कार्यक्रम घोषणा गरिने बताएका छन् ।

समारोह समिति सचिव कुलबहादुर थापाले उद्घाटनमा नेपालको कला र संस्कृति समेटेकामा समापनमा भने नेपालको वीरताको गाथा प्रस्तुत गरिने बताए । उद्घाटन भव्य भएजस्तै समापन अझ सशक्त हुने दाबी उनले गरे ।

उनले करिब डेढ घन्टा चल्ने समापन समारोहमा सुरक्षा निकायका विभागीय टोलीहरु तथा विद्यालयका गरी पाँच टोलीले विशेष प्रस्तुति दिने बताए ।

१४औं सागका लागि पाकिस्तानलाई झन्डा हस्तान्तरण गरिने

नेपालले १४औं सागका लागि पाकिस्तानलाई झन्डा हस्तान्तरण गर्दै साग समापन भएको घोषणा गर्नेछ ।

दक्षिण एसियाली ओलम्पिक काउन्सिलको बैठकले १४औं साग पाकिस्तानमा गर्ने निर्णय गरेको हो ।

६ महिनाभित्र काउन्सिलको बैठक पाकिस्तानमा गरी सागको मिति तय गरिने निर्णय भएको छ ।

काउन्सिलको सचिवालय भने नेपालमै राख्ने निर्णय भएको नेपाल ओलम्पिक कमिटीले जनाएको छ ।
(ईमेजखबरबाट साभार)