१३औं ‘साग’मा स्वर्ण विजेता फुटबल खेलाडीलाई जनही साढे पाँच लाख दिने एन्फाको निर्णय

 

काठमाडौं, माघ २६ ।

अखिल नेपाल फुटबल (एन्फा)ले १३औं दक्षिण एसियली खेलकुद (साग)मा स्वर्णपदक जित्ने नेपाली पुरुष फुटबल टिमका खेलाडीहरुलाई जनही साढे पाँच लाख रुपैयाँ दिने निर्णय गरेको छ ।

एन्फाको आइतबार एन्फा परिसरमा बसेको कार्यसमिति बैठकले खेलाडीहरुलाई नगद दिने घोषणा गरेको हो ।

काठमाडौंमा भएको १३औं सागमा फाइनलमा भुटानलाई हराउँदै नेपालले स्वर्ण जितेको थियो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले पनि खेलाडीहरुलाई जनही पाँच लाख दिने बताएपनि अहिलेसम्म खेलाडीहरुले पाएका छैनन् ।

यस्तै, सागमा उपविजेता बनेको महिला फुटबल टिमका खेलाडीले जनही डेढ लाख रुपैयाँ पाउने भएका छन् । नेपाल फाइनलमा भारतसँग पराजित भएको थियो ।

अरु निर्णय

एन्फाले विभिन्न निर्णय गर्नेक्रममा ‘बी’ डिभिजन लिग फुटबलको तयारीवापत् प्रत्येक क्लबलाई १० लाख रुपैयाँ दिने भएको छ ।

त्यस्तै लिगको उपाधि विजेताले १५ लाख, उपविजेताले ८ लाख तथा तेस्रो हुनेले ५ लाख तथा चौथो हुनेले तीन लाख रुपैयाँ प्राप्त गर्नेछ ।

त्यस्तै, ‘सी’ डिभिजनका क्लबहरुलाई तयारी खर्चवापत् ७ लाख रुपैयाँ दिने निर्णय गरेको छ ।

महिला लिगकोे विजेताले १५ लाख, उपविजेताले ८ लाख, तेस्रोले ५ लाख र चौथोले ३ लाख रुपैयाँ प्राप्त गर्ने पनि एन्फाले निर्णय गरेको छ ।

कार्यसमिति बैठकमा अन्य विविध विषयमा पनि छलफल भएको जनाइएको छ ।
(ईमेजखबरबाट साभार)