१२ वर्षमै आमा बन्दैछिन नेपालकी एक बालिका

हेटौंडा, कार्तिक ६ ।
आमाबुबाको काखमा लडीबुडी गर्नुपर्ने उमेर । हाँसखेल र रमाइलो गर्नुपर्ने उमेर । चन्चल अनी साथीभाईसँग यताउती पुगेर रमाइलो गर्नुपर्ने र पढ्नुपर्ने उमेर ।

तर मकवानपुरको राक्सिराङ–३ की १२ वर्षीया बालिका गंगा चेपाङको पेटमा सात महिनाको गर्भ छ । उनले भागेर बिहे गरेको ९ महिना भएको छ भने गर्भ रहेको ७ महिना । यो खबर आजको समाचारपत्र दैनिकमा हेटौँडाबाट रोशन पराजुलीले लेखेका छन् ।

०७४ पुस ८ गते मकवानपुरको कैलाश गाउँपालिका–७ का १८ वर्षका किशोरसँग उनको भागी बिहे भएको हो । कक्षा ४ मा पढ्दै गरेकी गंगा र कक्षा ३ मा पढ्दै गरेका उनका पतिको बिहेपछि पढाई छुटेको छ ।

भागी बिहेपछि १२ वर्षमै गर्भवती भएको कुरो सुरुमा गंगाले लुकाउन खोजेकी थिइन् । तर लुक्न सकेन । स्वास्थ्य चौकीमा उनले आफूलाई १५ वर्ष भएको बताउने गरेकी छन् । तर, उनकी आमा राममायाले गंगाको जन्म ०६३ सालमा भएको बताइन् ।

१२ वर्षकी बालिका गर्भवती भएको आफूले पहिलो पटक देखेको सरिखेत स्वास्थ्य चौकीकी अनमी सन्तोषी अधिकारीले बताइन् ।