१२ कक्षाको नतिजामा पोखराकी शुरतीले नेपाल टपिन्, डेढ लाख पुरस्कार

पोखरा, साउन २१ ।
पोखरामा रहेको प्रतिभा सेकेण्डरी स्कूलकी शुरती पाण्डेले कक्षा १२ को परीक्षाबाट नेपाल टपेकी छिन् । उनले ब्यवस्थापन संकायबाट ३ दशमलव ९२ जीपीए ल्याएर परीक्षा उत्तीर्ण गरेकी हुन् । प्रतिभाबाट व्यवस्थापन विषयमा परीक्षा दिएका २ सय २० विद्यार्थीमध्ये पाण्डेले सर्वाेत्कृष्ट नतिजा ल्याईन् ।

कमजोर आर्थिक अवस्थामा रहेपनि कडा मेहिनत गरेर पढेपछि राम्रो नतिजा आएको उनी सुनाउँछिन् । उत्कृष्ट बनेपछि शुरतीले डेढ लाख रुपैयाँ पुरस्कार पाएकी छिन् । आँफै अध्ययन गरेको प्रतिभा स्कूलले उनलाई सम्मान सहित नगद पुरस्कार दिएको हो ।

उनका भाइ सचेतराजलाई चाहीँ स्कूलले नै १२ कक्षासम्म निशुल्क पढाउने घोषणा गरेको छ । ‘पाण्डे हाम्रो स्कुकी मेधावी छात्र हुन् । उनले स्कुलको मात्रै नभएर समग्र गण्डकी प्रदेशलाई चिनाएकी छिन्,’ प्रतिभा स्कुलका प्राचार्य विश्वगोपाल पराजुलीले भने, ‘सिए पढ्न आर्थिक सहयोग होस् भनेर हामीले नगदसहित सम्मान गर्न लागेका हौं ।’

भाइ सचेत पनि पढाइमा अब्बल रहेको उनले जानकारी दिए । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नारायण पौडेलले सफलता हात पार्नुमा शैक्षिक र पारिवारिक वातावरणले धेरै प्रभाव पार्ने सुनाए । शिक्षक किरण सापकोटाले सामान्य परिवारबाट आएका विद्यार्थी पढाइमा लगनशील हुने अनुभव सुनाए ।

२०४३ सालमा स्थापना भएको विद्यालयबाट गत वर्षको कक्षा १२ को परीक्षामा विज्ञान संकायमा २ सय ६० जना सहभागी थिए । व्यवस्थापन संकायको परीक्षामा २ सय २० विद्यार्थी सहभागी थिए । विद्यालयमा ३ दशमलव ७६ भन्दामाथि ल्याउने विद्यार्थी ६ जना छन् ।