ह्याण्डबलमा नेपालको सुखद सुरुवात

पोखरा, मंसिर १८ ।
१३ औं दक्षिण एशियाली खेलकुद (साग) अन्तर्गत ह्याण्डबलमा नेपालले सुखद सुरुवात गरेको छ । पोखरा रंगशालास्थित बहुउद्देश्यीय कभर्ड हलमा भएको महिल ह्याण्डबल उद्घाटन खेलमा घरेलु टोलीले श्रीलंकामाथि २९–१९ गोलको अन्तर निकालेको हो ।

नेपालको तर्फबाट सर्वाधिक उमा राईले ८ गोल गरिन् । उमाले सबै गोल पेनाल्टीबाट गरेकी हुन् । कविता राईले उत्कृष्ट प्रदर्शन गर्दै ६ गोलको योगदान दिईन् । निषा राई र कल्पना वलीले समान ४ गोल गरे भने कप्तान रञ्जना राई र दुर्गा बोहराले समान २ गोल गरे । बन्दना राई, शान्तिकला राई र रामकुमारी चौधरीले समान १ गोलको योगदान दिए ।

उता, श्रीलंकाको तर्फबाट भने रुवानीडीले सर्वाधिक ७ गोल गरिन् । नाडे र सासले समान ३ गोल गरे भने हार्सिका उदय र दिलुक्सीएमले समान २ गोल गरे । उमासिका र चानिकले समान १ गोल फर्काए । घरेलु कोर्टको फाइदा उठाउदै घरेलु नेपाली टोलीले श्रीलंकालाई खेल अवधिभर पूरै दवावमा राखेको थियो ।

प्रशिक्षक कृष्ण शाक्यले नेपाली टोलीको रणनीति अनुसार खेलाडीको प्र्रदर्शन भएका कारण जीत सम्भव भएको बताए । श्रीलंकन प्रशिक्षक नेनान्दले नेपाली टोलीलाई बधाई दिए । उनले नेपाली महिला ह्याण्डबल टोलीको खुलेरै प्रशंसा गरे । नेपाल जितको हकदार रहेको उनको प्रतिक्रिया थियो । नेपालको निषा राई र उमा राईलाई रेफ्रीले पहेंलो कार्ड दिए । श्रीलंकाको मुख्यप्रशिक्षक समेत रहेका नेनान्द सहित हार्सिका उदयलाई पहेंलो कार्ड पाए ।