होसियार ! पोखरामा डेंगु रोगको प्रकोप

पोखरा, कार्तिक १० ।
पोखरामा डेंगु रोग संक्रमितको संख्या बढेको छ । असोज यता पोखराका विभिन्न अस्तपतालमा उपचार गर्न पुगेका मध्ये २२ जनामा डेंगुको संक्रमण भेटिएको छ । पोखराका गण्डकी मेडिकल कलेज, चरक मेमोरियल र फेवासिटी अस्पतालमा परिक्षणमा आएका २२ जनामा डेंगुका विरामी भेटिएको पोखरा महानगरपालिका स्वास्थ्य महाशाखाका निर्देशक हेमन्त शर्मा पौडेलले जानकारी दिए ।

उनले पोखरा महानगरपालिको वडा नम्बर ८ वरपरबाट धेरै डेंगूको विरामी आएको बताए । लामखुट्टेबाट हुने डेंगु रोग नियन्त्रण तथा रोकथामका लागि समुदायमा अभियान चलाएको उनको भनाई छ । विशेषगरी डेंगू रोग असोज र कार्तिक महिना बढी भेटिने गरेकाले सचेत रहन आग्रह समेत गरेका छन् ।

‘डेंगूका सार्ने लामखुट्टेले दिऊसोमा टोक्छ’ उनले भने ‘सफा पानीमा फुल पार्दछ, त्यसै पानीलाई छोपरे मात्रै राख्नु पर्दछ ।’ उनले घरदैलोमा पुगेर पोथी जातका लामखुट्टेले स–साना सफा पानी जमेका स्थानमा फुल पार्ने गरेको बताए । पोखरामा भेटिएका डेंगूका विरामीहरु अधिकांश भारत, तराई र कतारबाट आएकाको परिवारमा देखीएको बताए ।

चिकित्सकका अनुसार संक्रमित लामखुट्टेले टोकेपछि करिब ४८ घन्टाभित्र रगतमा भाइरस फैलिने बताए । त्यही अवस्थामा अर्को लामखुट्टेले बिरामीलाई टोकेर स्वस्थ मानिसलाई टोके रोग सर्छ गण्डकी मेडिकल कलेजका मेडिकल विभागमा कार्यरत डाक्टर दुर्गा ढुङगनाले भने लामखुट्टेले टोकेपछि रोगको लक्षण देखिन ३ देखि १४ दिन सम्म लाग्न सक्छ ।

पहिलोपटक संक्रमण फैलिएका ठाउँमा सामान्य रुघाखोकी र ज्वरोको लक्षण देखिने उनले बताए । यस्तोमा रुघाखोकी र ज्वरोका सामान्य औषधि खाएर निको हुनसक्छ । दोस्रोपटक भने फरक भाइरस भएको लामखुट्टेले टोक्दा जटिलता बढ्न सकने बताए । उनले गण्डकी मेडिकल कलेजमा पर्वत, स्याङजा लगाएतका जिल्लाबाट समेत डेगूका विरामी आएको बताए ।

उनी उपचार पछि घर फर्किएको उनको भनाई थियो । डेंगी संक्रमणले शरीरमा रगत जम्ने प्रक्रिया अव्यवस्थित हुन्छ । यसले घातक रूप लिँदा छाला, पेट, आन्द्राजस्ता शरीरका भित्री भागमा रक्तस्राव हुन्छ । भाइरसले रगतमा भएको प्लेटलेट्समा आक्रमण गर्ने चिकित्सकको भनाई छ ।