होटल उद्घाटन गर्न पुगेका प्रधानमन्त्री ओली लञ्च खाएर फर्किए, कारण के हो ? (पढ्नुस् पूरै)

पोखरा, जेठ १८ ।
पोखरा महानगरपालिका क्षेत्रभित्र साढे ३ तलाभन्दा अग्लो भवन बनाउन नपाईने नियम छ । त्यो पनि फेवाताल किनार वरिपरि साढे २ तलाको मात्रै भवन बनाउन पाईन्छ । भूकम्पपछि नयाँ बस्ति विकास निर्देशिकाले जमिनको अनुपातमा भवनको उचाई बढाउन पाउने ब्यवस्था गरेपनि पोखरामा यो नियम लागू भैसकेको छैन ।

मापदण्ड फेरवदल गर्नुपर्ने चौतर्फी माग आएपछि पोखरा महानगरले मापदण्ड हेरफेरका लागि अध्ययन समिति गठन गरेको थियो । इञ्जिनियर भरत पहारीको संयोजकत्वमा गठित समितिले गरेको सिफारिस कार्यान्वयनमा गएको छैन । यद्यपी यही सिफारिस कार्यापालिकाबाट समेत पास भएको छैन ।

तर उनै पहारीले महानगरको नीति विपरित आलिसान भवन बनाएर होटल चलाएका छन् । सोही होटल शनिवार प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने कार्यक्रम थियो । होटल उद्घाटनको निमन्त्रणा मन्त्रीदेखि सांसद र अन्य सरोकारवालालाई पठाईएको थियो ।

निम्तो मान्न शनिवार सबै निम्तालु भेला भए । पौने १० बजे भनिएको कार्यक्रमका लागि प्रधानमन्त्री ओली केही ढिलो गरि होटलमा छिरे । हलमा प्रधानमन्त्रीको प्रतिक्षा गरेर बसिरहेका थिए, सबै आमन्त्रित ब्यक्तिहरु ।

पर्यटनमन्त्री स्व. रवीन्द्र अधिकारी प्रतिष्ठानको उद्घाटन गर्न पोखरा आएका ओलीलाई सोही मौका छोपी होटल उद्घाटन गर्न लगिएको थियो । तर एयरपोर्टदेखि होटलसम्म पुग्दा उनको मुड चेञ्ज भयो र होटलमा पुगेर उद्घाटन नगरि फर्किए ।

हलमा रहेका सहभागीहरुलाई आयोजकले प्रधानमन्त्री होलट उद्घाटनका लागि होटलमा आईसकेको जानकारी गराए । केहीबेर स्वागतका लागि तयारी समेत भयो । तर ओली सीधै कोठामा छिरे । बाहिरै निस्किएनन् । आयोजकले केहीबेरमै सहभागीलाई भने, ‘प्रधानमन्त्री ज्यू खाना खाँदै हुनुहुन्छ । केहीबेर खाना खाएर पुनः हलमा आउनुहोला ।’

सबैजना खाना खान गए । प्रधानमन्त्री ओली लञ्च लिएर करिब डेढ घण्टा होटलमै आराम गरे । त्यसपछि नमस्कार गर्दै बाहिरिए । सबै निम्तालु हेरेको हेरै । कारण थियो, होटलको विवाद । यो होटल महानगरको मापदण्डभित्र छैन । मापदण्ड पूरा नगरेकाले नक्सापास समेत भैसकेको छैन ।

होटल उद्घाटनका लागि तयार गरिएको ताम्रापत्र ।

पोखरामा केही महिनापनि यस्तै घटना भएको थियो, त्यो पनि भिआईपीको । बुद्धचोकमा रहेको होटल टास्क उपराष्ट्रपति नन्दकिशोर पुनले उद्घाटन गरे । त्यसपछि देशदेखि विदेशसम्म उनको आलोचना भयो । प्रधानमन्त्री ओलीलाई पनि सोही आलोचनाको डर थियो ।

उनले होटल उद्घाटन गर्ने कुरा सुनेपछि पोखरामा विरोध सुरु भैसकेको थियो । विभिन्न सञ्चारमाध्यमबाट समाचार प्रकाशन, प्रशारण गरिएका थिए । अन्नतः ओलीले होटल उद्घाटन गरेनन् ।

होटल सञ्चालक भरतराज पहारीले मापदण्ड अनुसार नै होटल बनाएको दावी गरे । ‘बस्ती विकास निर्देशिकाले जमिनको अनुपातमा भवन बनाउन पाउने नियम बनाएको छ । त्यसैलाई टेकेर भवन बनाएको हो,’ उनले भने, ‘त्यो नियम लागू नगर्नु महानगरको कमजोरी हो । नियमअनुसार काम गर्दा मेरो के गल्ती भयो ?’

उनले भनेझैं बस्ती विकास निर्देशिकाको कार्यान्वयन पोखराले गरेको छैन । आफ्नै मापदण्ड बनाउने मेयर मानबहादुर जिसीले बताए । होटल स्विस सरोवर १० तले भवनमा छ । होटल उद्घाटन स्थगीत भएको बारे सञ्चालक पहारी बोल्न चाहेनन् ।

उक्त कार्यक्रममा युवा तथा खेलकुद मन्त्री जगत विश्वकर्मा, गण्डकी प्रदेशका मुख्य मन्त्री पृथ्बी सुब्बा गुरुङ, गण्डकी प्रदेशका उद्योग, पर्यटन वन तथा वातावण मन्त्री विकास लम्साल, गण्डकी प्रदेशका सांसदहरु राजिव पहारी, रामजी बराल जिवन, बिन्दुकुमार थापा, पोखरा महानगरपालिका वडा नम्बर ६ का वडा अध्यक्ष जगत पहारी, मानव अधिकारकर्मी टेकनाथ बराल लगायतको उपस्थिति रहेको थियो ।

जनवरी १० तारिख देखि सफ्ट ओपनिङ गरिएको उक्त होटल उद्घाटन गर्न प्रधानमन्त्री ओलीको हस्ताक्षर सहितको ताम्रापत्र ढाकिएको कपडा जस्ताको त्यस्तै छ । होटलमा जमिन सहित करिब २ अर्व रुपैयाँ लगानी लागेको सञ्चालकले बताएका छन् ।

अत्याधुनिक प्रविधि तथा वातावरण मैत्रि हुने गरी निमार्ण भएको होटलको सेवा पाँच तारे होटल बराबरको भएको पहारीको दावी छ । होटलमा हाल ९६ वटा रुम छन् । पोखरा महानगरपालिकाका मेयर मानहादुर जिसीले प्रधानमन्त्रीले विवादित संरचनाको उद्घाटन गर्न नहुने प्रतिक्रिया दिएका थिए ।