हेर्नुस् अब फेवातालको झार मेसिनले झिक्छ (भिडियो सहित)

पोखरा, माघ १७ ।
फेवातालको जलकुम्भी झार र फोहोर निकाल्ने मेसिन पोखरा ल्याएको छ । निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमको ५० लाख र पोखरा महानगरपालिकाको ७५ लाख रुपैयाँ गरी १ करोड २५ लाख रुपौयाँमा फेवातालको जलकुम्भी झार निकाल्ने मेसिन ल्याइएको हो । मेसिनको बुधबार फेवातालमा परीक्षण गरिएको छ ।
जलकुम्भी झार निकाल्ने क्यानडाबाट एक्वाइटिक प्लान्ट हार्भेस्टिङ मेसिन झिकाएको फेवाताल संरक्षण आयोजना प्रमुख इन्जिनियर महेन्द्रबहादुर गोदारले बताए । फेवातालबाट निकालिएको झार एक ठाउँमा जम्मा गरिने छ र यसबाट कम्पोस्ट मल बनाउने योजना महानगरपालिकाको छ ।
२०७४ वैशाख १९ गते जलकुम्भी लगायत झार व्यवस्थापनका लागि मेसिन खरिद गर्ने निर्णय महानगरले गरेको थियो । तालमा बर्षेनी आउने जलकुम्भी झारको ब्यवस्थापनका लागि पोखरा लेखनाथ महानगरपालिकाको पहिलो कार्यपालिकाको बैठकले अत्याधुनिक औजार (मेशिन) खरिद गरेको उपमेयर मन्जु गुरुङले बताइन् । झारका कारण फेवातालमा घुम्न आउने आन्तरीक तथा बाह्य पर्यटकलाई डुङगा सयरमा समेत बेला बेलामा समस्या पर्ने गरेको थियो ।