हेड टु हेडमा श्रृंखला खतिवडा पराजीत–मिस वल्र्डको यात्रा के हुन्छ ?

काडमाण्डौं, मंसिर १६ ।
नेपाल सुन्दरी समेत श्रृंखला खतिवडा ‘हेड टु हेड’ विधामा पराजित भएपछि देशभित्र सबैतिर एउटा प्रश्न उठिरहेको छ । ’के अब उनी मिस वर्ल्ड प्रतियोगिताबाट बाहिरिएकी हुन् ?’ यो प्रश्नको निष्कर्षमा अहिलै नै पुग्न छिटो हुनेछ । यति चाहिँ भन्न सकिन्छ ’हेट टू हेड’मा भोटको भूमिका रहने भए पनि शुभेच्छुकहरुले दिएको सबै भोट अर्थहीन भइसकेको छैन ।

भोट खासगरी ‘मल्टिमिडिया अवार्ड’ विधा अन्तर्गत गणना हुन्छ । प्रतियोगीले पाएको भोटकै आधारमा श्रृंखला मल्टिमिडिया अवार्ड जितेर सिधै टप(३० मा जाने सम्भावना अझै बाँकी छ ।

यसअघि (शुक्रबार) श्रृंखला ‘टप २०’ मा परेर सिधै अर्को चरणमा प्रवेश गरेको हल्ला चल्यो । शनिबार फेरि श्रृंखला पराजित् भइन् भन्ने अर्काे सनसनी मच्चियो । दुबै सूचना समाचार सत्य हुन् । तथ्यमा केही तलमाथि भएको भने पक्कै हो ।

‘हेड टु हेड’ च्यालेन्ज अन्तर्गत पहिलो चरण प्रवेशका लागि २० वटा समूह विभाजन गरिएको थियो । त्यसमा नेपाल बोस्निया, गुमा, लग्जमवर्ग, मोल्डाभा रहेको समूह–१३ मा थियो । यस समूहको विजेता बन्दै श्रृंखला ‘हेड टू हेड’ च्यालेन्जअन्तर्गत दोस्रो चरणमा प्रवेश गरेकी थिइन् ।

यस समूहमा सहभागी सबैलाई ‘तपाईंको देशले सामना गरेको सबैभन्दा ठूलो समस्या के हो र यसको समाधान कसरी गर्ने ?’ भन्ने प्रश्न सोधिएको थियो । उत्तरमा श्रृंखलाले जवाफ दिएकी थिइन्, ‘नेपालको सबैभन्दा ठूलो समस्या बेरोजगारी हो र थुप्रै युवा रोजगारीका लागि विदेश जाने गरेका छन् ।’

यो समस्याको समाधान कसरी गर्ने भन्ने सम्बन्धमा पनि उनले आफ्नो विचार प्रकट गरेकी थिइन् । उनले सुझाएको उपाय थियो, ‘नेपाल विविध भाषा, धर्म, संस्कृति, परम्परा, प्राकृतिक सुन्दरताले भरिपूर्ण देश हो । त्यसैले, नेपाललाई पर्यटकीय गन्तव्यको रुपमा विकास गरेर रोजगारी सृजना गर्न सकिन्छ ।’

उनको यो उत्तरलाई निर्णायक मण्डलले ‘उत्कृष्ट जवाफ’ को रुपमा मूल्याङ्कन गर्दै उनलाई अर्को चरण प्रवेशका लागि हरियो झण्डा देखाएका थिए । २० समूहमाबाट छानिएका विजेताबीच अर्काे प्रतिस्पर्धा थियो । त्यसमा नेपालले सिंगापुरको सामना गर्नुपर्ने भयो । १० समूहमा विभाजित यो समूहको प्रत्येक समूह विजेता बल्ल ‘मिस वर्ल्ड’ को अर्को चरणमा अर्थात उत्कृष्ट ३० मा पर्न सक्थ्यो ।

‘भविष्यको योजना के हो ?’ भन्ने प्रश्नमा ‘मिस सिंगापुर’ भेनेसा पी टीङ टीङले जितिन् । यस प्रतिस्पर्धामा तीन पूर्व मिस वल्र्ड मेगन योङ, स्टेफेन मारी डेल भा र मानुषी चिल्लर ‘जज’ का रुपमा थिए । तीनै जनाले मिस सिंगापुरलाई भोट दिएका थिए ।

अब के हुन्छ ?

हेट टू हेडबाट बाहिरिएकै कारण ‘टप–३०’ मा पुगेर ‘मिस वल्र्ड’ ताज पहिरने बाटो श्रृंखलाका लागि बन्द भइहाल्दैन । हालसम्म १३ प्रतिस्पर्धी ‘टप–३०’ पुगेका छन् । १७ छानिन बाँकी छन् । १० प्रतिस्पर्धी ‘हेड टू हेड च्यालेन्ज’ का आधारमा र अन्य तीन ट्यालेन्ट, स्पोर्टस् र डिजाइनर प्रतिस्पर्धाबाट अर्को चरणका लागि छानिएका हुन् । बाँकी १७ मध्ये १५ जना ‘जज’ ले आफैँ छनोट गर्नेछन् । मल्टिमिडिया र ‘व्यूटी विथ द पर्प’ बाट एक–एक जना छानिने छन् ।

मल्टिमिडियामा श्रृंखलाको सम्भावना बलियो छ । यसमा फेसबुक, मोबस्टार एप, मिस वल्र्डको वेबसाइट आदिबाट प्राप्त भोट गणना हुन्छ । मिस वर्ल्डको अफिसियल साइटमा श्रृंखलाको पक्षमा सबैभन्दा धेरै ३५ प्रतिशत भोट छ ।

सामाजिक सञ्जाल फेसबुकमा पनि उनको पकड बलियो छ । मोब स्टार एप डाउनलोड गरेर भोट गर्न विभिन्न सर्कुलर भएका छन् । त्यसैले श्रृंखलाले यसमा धेरै आश गरेकी छन् । ‘टप ३० का लागि अझै पनि सम्भावनाहरु बाँकी छन्, १७ स्थान खाली छ’ श्रृंखलाले भनेकी छन्, ‘ब्यूटी विथ पर्प र मल्टिमिडियामा पनि सम्भावना राम्रो छ, त्यसैले तपाईंहरु नआत्तिनु होला ।’

यदि यी दुई उपाधि प्राप्त गर्न सकिनन् भनेपनि ‘जज’ हरुको उत्कृष्ट १५ मा परेर ‘टप–३०’ मा पर्ने सम्भावना पनि रहन्छ । श्रृंखलाले जारी प्रतियोगितामा जवर्जस्त फरक शैली, कलात्मक प्रस्तुति प्रदर्शन गरिरहेकी छन् । शुभेच्छुकहरूबाट पाइरहेको समर्थनका कारण पनि ‘जज’ हरुका लागि उनी नजरअन्दाज गर्न नसकिने प्रतियोगी बनेकी छन् ।

कसरी छानिन्छन् मिस वल्र्ड ?

‘टप–३०’ को अन्तिम लिस्ट तयार भएपछि समूह विभाजन गरी उनीहरुबीच थप प्रतिस्पर्धा हुनेछ । त्यो प्रतियोगिताबाट ‘टप–१५’ छनोट हुनेछन् । त्यसपछि ती १५ जना प्रतियोगीहरु बीचबाट ‘टप–५’ छानिनेछन् ।

यसरी छनोट भएका ‘टप–५’ बाट तीन जना क्रमैसँग मिस वल्र्ड, फस्र्ट रनर अप र सेकेन्ड रनर अपका रुपमा छनोट हुनेछन् । बाँकी दुई जनाले भने निराश हुनु पर्नेछ ।