हिमालय एयरलाइन्सद्वारा साउदी उडान स्थगित

 

काडमाडौं, चैत २ ।

नेपालबाट अन्तरराष्ट्रिय उडान भर्ने निजी क्षेत्रको वायुसेवा प्रदायक कम्पनी हिमालय एयरलाइन्सले साउदी अरब गन्तव्यको उडान स्थगित गरेको छ ।

कम्पनीले आइतबार जरुरी सूचना निकालेर मार्च १५ देखि मार्च २८ सन् २०२० सम्मका लागि काठमाडौं–दमामा–काठमाडौं उडान स्थगित गरेको जनाएको हो ।

कोभिड–१९ को प्रकोप फैलिन नदिन साउदी सरकारले मार्च १५ देखि दुई साताका लागि अस्थायी प्रतिबन्ध लगाएकाले उडान रोक्नुपरेको कम्पनीले उल्लेख गरेको छ ।

उडानका लागि टिकट लिइसकेका यात्रुले अतिरिक्त शुल्कबिना, यात्राको मिति परिवर्तन गर्ने आफ्नो ट्राभल अथवा बुकिङ एजेन्टसँग सम्पर्क राख्न पनि अनुरोध गरेको छ ।

कम्पनीले यसअघि चीनका पाँचवटै गन्तव्यको उडान स्थगित गरिसकेको छ भने गत फागुन २७ देखि लागू हुनेगरी कतारको दोहा गन्तव्यको उडान स्थगित गर्ने निर्णय गरेको थियो ।

कतारले नेपालसहित १४ देशका नागरिकलाई प्रवेशमा अस्थायी प्रतिबन्ध लगाएकाले अर्को सूचना जारी नभएसम्मका लागि हाललाई दोहा उडान रोकिएको कम्पनीले सूचनामा उल्लेख गरेको छ ।

त्यस्तै राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले पनि फागुन २७ देखि लागू हुनेगरी कतारको दोहामा गर्दै आएको नियमित उडान अर्को निर्णय नभएसम्म हाललाई स्थगित गरेको विज्ञप्तिमार्फत जनाएको थियो । (रासस)