हिमआँधीले भत्किए अन्नपूर्ण बेस क्याम्पका होटल

पोखरा, फागुन २५ ।
कास्कीमा पर्ने अन्नपूर्ण बेस क्याम्पका होटलहरु हिमआँधीका कारण भत्किएका छन् । होटलका छाना पूर्ण रुपमा उडाएको छ भने केही गारो समेत लडाएको बताईएको छ । अन्नपूर्ण सेन्चुरी लज, होटल स्नोल्याण्ड, अन्नपूर्ण गेष्ट हाउस र प्याराडाईज गार्डेन गरी चार वटा होटल पुरिएको सञ्चालकहरुले बताएका छन् । पछिल्लो एक महिनादेखि एविसीमा लगातार हिउँ परिरहेको छ भने कहिलेकाहीँ आँधी समेत आउने गरेको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाले जनाएको छ । बेस क्याम्पमा ४ वटा होटल थिए ।

बाक्लो हिउँ पर्न थालेपछि त्यहाँका होटल सञ्चालकहरु पनि बेस क्याम्प छोडेर बेशी झरेका छन् । लगातार हिउँ परेपछि अन्नपूर्ण क्षेत्रमा सुरक्षाका लागि पर्यटकलाई जान नदिईएको छोम्रोङ पर्यटन ब्यवस्थापन समितिका उपाध्यक्ष तथा होटल संचालक जगनराज गुरुङले बताए ।

‘यो बर्ष हिउँबारी निकै धेरै भयो । मौसम सहज नहुँदासम्म एविसीमा पर्यटक नपठाउने हामीले नै निर्णय गरेका हौं, उनले भने–जानै नमिल्ने त होईन । तर अग्रिम सतर्कता अपनाएका हौं ।’ एक्यापसँगको समन्वयमा होटल सञ्चालक समिति र गाउँपालिकाले फेब्रुअरी २ देखि छोम्रोङभन्दा माथी पर्यटकलाई जान रोकेको थियो । तर विहिबारदेखि माछापुच्छ«े बेस क्याम्प सम्म खुला गरिएको र सातादिनपछि एमविसीमा पनि खुला गर्ने समितिका सचिव दिलिप गुरुङले बताए ।

‘होटलहरु भत्किएका छन् । मौसम सफा भएपछि हिउँ पग्लिन्छ अनि भत्किएका होटल मर्मत गरेर पूरानै स्वरुपमा पर्यटकलाई सेवा दिन सक्छौं, होटल सञ्चालक समेत रहेका उनले भने–पहिलेका बर्षभन्दा यसपालि हिउँ धेरै परेको छ । धेरै हिउँ जमेकोले पनि हिडडुल गर्न गाह्रो पर्छ ।’ माछापुच्छ«े बेस क्याम्पका होटलहरुमा चाहीँ कुनै क्षति भएको छैन । ‘अहिलेलाई माछापुच्छ«ेसम्म खुला भयो । पर्यटकहरु जाँदा बस्ने ठाउँ समस्या छैन, गुरुङ भन्छन्–एविसीमा पनि हाईकिङ गर्न मिल्छ । माथी घुमेर माछापुच्छ«े बेसक्याम्पमा बस्न आईपुग्छन् ।’

अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष यूवराज कुवँरले होटलमा भएको क्षति विवरण भरेर केन्द्र र प्रदेश सरकारसँग पनि सहयोग माग्ने बताए । ‘३ करोड हाराहारीमा नोक्सान भएको छ । गाउँपालिकाले मात्रै क्षति थेग्न सक्दैन, उनले भने–प्रदेश र केन्द्र सरकारलाई पनि जानकारी गराएका छौं । एविसी पुनः छिटै पूरानै अवस्थामा आईपुग्छ ।’