हिउँको ढिस्कोले पुरिएर कास्कीमा १ जनाको मृत्यु

पोखरा, कार्तिक ६ ।
कास्कीको अन्नपूर्ण गाउँपालिका ११ स्थित बगर भन्ने ठाउँमा हिउँपहिरोको ढिस्कोले पुरिएर १ जनाको मृत्यु भएको छ । अन्नपूर्ण बेसक्याम्प घुम्न गएका पोखरा ५ पस्र्याङका १८ बर्षिय सञ्जय खनालको हिउँपहिरोबाट थप्रिएको हिउँको ढिस्कोले पुरिएर मृत्यु भएको हो ।

पोखराबाट ३ जनाको टोली अन्नपूर्ण बेस क्याम्प घुम्न गएको थियो । बाँकी २ जना घाईते छन् । घाईते भएका फूलबारीका सन्तोष बास्तोला र पस्र्याङका निर्जन कोइरालाको मनिपाल शिक्षण अस्पतालमा उपचार भैरहेको छ ।

हिउँदमा झरेको ढिस्को पग्लिएपछि सुरुङ बनेको र त्यही सुरुङमा पसेर फोटो खिच्न लाग्दा ढिस्कोले पुरिएर मृत्यु भएको स्थानीय छोम्रोङ पर्यटन ब्यवसायी समितिका अध्यक्ष बुद्धी गुरुङ जानकारी दिए । ‘हिउँदमा सँधै हिउँ थुप्रिने ठाउँ हो । त्यही हिउँ पग्लिएर सुरुङ बनेछ । सुरुङभित्र फोटो खिच्न लाग्दा माथिल्लो ढिस्को पनि झरेको देखियो,’ उनले भने, ‘१ जनाको मृत्यु भयो । अरुलाई उद्दार गरेर पोखरा पठाईएको छ ।’

घाईतेको हेलिकोेप्टरबाट उद्धार गरिएको हो । मौसमको खरावीका कारण शव ल्याउन नसकिएको प्रहरीले जनाएको छ । घटनास्थलमा स्थानीय पुगेका थिए ।