हरिहर गुफाको संरक्षण र प्रवद्र्धनमा महानगरले सहयोग गर्छ : मेयर जिसी

गिता राना मगर

पोखरा, साउन २८ ।

पोखरा महानगरपालिकाका मेयर मान बहादुर जिसीले हरिहर सन्यास आश्रम गुफाको संरक्षण र प्रवद्र्धनमा लाग्नुपर्ने बताएका छन् । हरिहर गुफा सन्यास आश्रम पोखरादेखी नजिकै रहेको भएतापनि यसको प्रबद्र्धन हुन नसक्दा गुफामा धार्मिक पर्यटकहरु पुग्न नसकेको बताएका हुन् ।

पोखरा महानगरपालिका २० मा पर्ने हरिहर गुफामा पहिलोपटक आयोजना गरेको वोलवम जलयात्राको समापनमा पुगेका मेयर जिसीले हरिहर गुफा अझैपनि ओझेलमा परेकाले यसको संरक्षण हुन नसकेको बताए । भौतिक पूर्वाधार निर्माणका लागी पोखरा महानगरपालिकाले सहयोग गर्ने बताउदै जिसीले भौतिक पूर्वाधारमात्र नभएर यसको प्रवद्र्धनका लागी समेत महानगरको साथमा स्थानियले जोड दिनुपर्ने उनको भनाइ रहेको थियो ।

पोखराबाट नजिकै रहेको पवित्र धार्मिक स्थल त्यसमा पनि एतिहासिंक हरिहर गुफा आश्रम आफैमा महत्वपूर्ण भएतापनि यसको बारेमा कोही कसैलाई जानकारी नहुदा ओझेलमा परेकाले अब यसको प्रवद्र्धन र संरक्षणका लागी पोखरा महानगर लागी पर्ने उनले बताए ।

सो अवसरमा वोल्दै पोखरा महानगरपालिका वडा नम्बर २० का अध्यक्ष सिम गुरुङले हरिहर गुफाको प्रवद्र्धन गर्ने उद्देश्यले पहिलो पटक साउनको ४ वटा सोमबार बोलवम जलयात्राको आयोजना गरिएको बताउदै आगामी दिनमा पनि यसको प्रवद्र्धनका लागी छिमेकी वडाहरु वडा नम्बर १६ र ११ संग सहकार्य गरी अगाडी वढ्ने बताए । हरिहर गुफा आफैमा महत्वपूर्ण धार्मिक स्थल रहेतापनि यसको प्रचार प्रसार त्यस क्षेत्रमा हुने कार्यक्रमहरु हुन नसक्दा ओझेलमा परेको बताउदै अध्यक्ष गुरुङले आगामी दिनमा बालाचतुर्दशी, शिवरात्री जस्ता विभिन्न धार्मिक उत्सवहरुमा विभिन्न कार्यक्रमहरुको आयोजना गरी हरिहर गुफामा धार्मिक पर्यटक भित्रयाउने र त्यसका लागी वडाले विशेष सहयोग गर्ने बताए ।

त्यस्तै पोखरा १६ का अध्यक्ष जीवन आचार्यले हरिहर गुफाको विकास र प्रवद्र्धनका लागी अफ्नो वडाबाट समेत सहयोग गर्ने वताउदै हरिहर गुफा पोखराकै धार्मिक पर्यटकीय स्थल भएकाले पोखरा २० मात्र नभइ छिमेकी वडाहरुले समेत यसलाई प्रवद्र्धन गरी पोखराको उत्कृष्ट धार्मिक स्थल बनाउनतर्फ लाग्नुपर्नेमा जोड दिए ।

त्यस्तै पोखरा ११ का अध्यक्ष मोहन बास्तोलाले हरिहर गुफाको प्रवद्र्धनका लागी यो पटकदेखी बोलवमको आयोजना गरि त्यसमा आफ्नो वडाले समेत सहभागीता जनाउन पाउदा निकै खुसी लागेको बताउदै आगामी दिनमा पनि हरिहर गुफा परिसरमा हुने विभिन्न धार्मिक उत्सवहरुमा आफ्नो वडाबाट सक्दो सहयोग गर्ने बताए । वडा नम्बर ११ र २० मिलेर हरिहर गुफा आउने भक्तजनहरुलाई मध्यनजर गरी हालै मणिपालदेखी पिपलडाली सम्म बिग्रको बाटो निर्माण कार्य सम्पन्न गरेको बताउदै आगामी दिनमा हरिहर गुफामा हुने सम्पूर्ण कार्यक्रममा आफ्नो वडाको समेत प्रत्यक्ष सहभागीता रहने बताए ।

अघिल्लो ३ सोमबार पोखरा २० को आयोजनामा वोलवम जलयात्रा गरिएको भएतापनि अन्तिम सोमबार पोखरा ११ र २० को आयोजनामा रिट्ठाघाटबाट सेती नदीको जल लिइ वोलवम यात्राको आयोजना गरिएको थियो । उक्त बोलवम यात्रामा साबिकको मौजा गाविस, भलाम, फुलबारी, रानीपौवा, दीप, वगर लगायतका भक्तजनहरुको बाक्लो उपस्थिती रहेको थियो । बाजागाजा र भजन सहित भक्तजनहरु यात्रामा सहभागीता जनाएका थिए ।