हँसिया, हथौडाको झण्डा नेपालको दुर्भाग्य–चालिसे

पोखरा, कार्तिक २० ।
नेपाली काँग्रेसका बौद्धिक नेता तथा कास्की क्षेत्र नम्बर २ का प्रतिनिधीसभा उम्मेदवार देवराज चालिसेले हँसिया हथौडा भएको कम्युनिष्टको झण्डा नेपालीको दुर्भाग्य भएको बताएका छन् । देशमा पर्याप्त श्रोत साधन भएपनि परिचालनमा कम्युनिष्टहरुले गर्ने अवरोधले नेपालको विकास हुन नसकेको उनको भनाई छ । ‘हामीलाई चाहिने पर्याप्त श्रोत साधन हामीसँगै छ । तर विकासका काममा कम्युनिष्टहरुले अवरोध गरेका छन्, देश कसरी विकसित हुन सक्छ, उनले भने–हँसिया र हथौडा भएको कम्युनिष्ट झण्डा हाम्रो दुर्भाग्य हो । कम्युनिष्टहरुका कारण नेपाली जनता निरिह बन्नुपरेको छ ।’
उनले कम्युनिष्ट पार्टीको सिद्धान्त र जनताको रोजाई नमिल्ने भन्दै त्यसको प्रतिनिधीत्व काँग्रेसले गर्ने बताए । ‘कम्युनिष्ट पार्टीले रोजेको बाटो गए जनता छोड्नुपर्छ । जनताले रोजेको बाटो आउने हो भने कम्युनिष्टले आफ्नो सिद्धान्त छोड्नुपर्छ, उनी भन्छन्–दुवै कुरा एकैचोटी हुन सक्दैन । अव काँग्रेसले काँध हाल्ने बेला भयो ।’ भावी सन्ततिका लागि भएपनि काँग्रेसलाई माया गरिदिन चालिसेको आग्रह छ । काँग्रेस नबोलेर चामल पनि विकाउन नसकेको भन्दै उनले एमालेले बढी बोलेर पिठो बेचिरहेको बताए । ‘काँग्रेसले पैसा जम्मा गर्दिन्छ । कम्युनिष्टहरु बाँडेर हिरो भैरहेका छन्, चालिसेले भने–हाम्रो आर्थिक नीतिका कारण श्रोत बृद्धी भएको हो । अव बाँड्ने जिम्मा पनि काँग्रेसकै हो ।’
नेता चालिसेले कम्युनिष्टहरु बीचमा चुनावी नतिजासँगै साम्यबादका लागि सम्झौता भएको उल्लेख गरे । ‘देशमा साम्यवाद आए जनताले भोट हाल्ने अवस्था पनि रहँदैन । बहुमत लिएर जनताका सबै अधिकार खोस्ने योजनामा कम्युनिष्टहरु लागिरहेका छन्, उनले भने–यसलाई चुनावबाटै रोकौं । साम्यवादी ब्यवस्था लागू भए हजारौंको रगत वगेपनि ब्यवस्था फेर्न सक्दैनौं ।’ महिला संघ कास्कीको भेलालाई सम्बोधन गर्दै उनले कम्युनिष्टहरु बुलेटबाट नसकेपछि ब्यालेटको साहारामा आएको बताए ।
स्थानीय चुनावमा विभिन्न कारणले काँग्रेस पराजीत हुनुपर्ने अवस्था आएपनि यो चुनावमा नतिजा सुधार हुने उनको विश्वास छ । ‘गएको चुनाव विभिन्न कारणले तलमाथी भएको हो । तर अव काँग्रेसले गल्ती गर्दैन, उनले थपे–काँग्रेस सुध्रिन तयार छ । बहुमत ल्याएर देखाईदिन्छौं ।’ देशमा अझैपनि ७० प्रतिशत जनताहरु लोकतन्त्रबादी भएको विश्लेषण गर्दै उनले त्यो भोट काँग्रेसले सुरक्षित गर्ने दावी गरे ।