स्वार्थ पूरा गर्न विदेशी शक्तिले जस्तोसुकै कदम चाल्न सक्छन् : नेता नेपाल

 

काठमाडौं, कात्तिक २ ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता माधवकुमार नेपालले विदेशी दबाब र इशारामा हिँड्ने प्रवृत्ति अन्त्य गर्नुपर्ने बताएका छन् ।

शनिबार काठमाडौंमा सन्चार केन्द्र नेपालले आयोजना गरेको कार्यक्रममा उनले आफ्नो स्वार्थ पूरा गर्न विदेशी शक्तिले जस्तोसुकै कदम पनि चाल्नसक्ने भएकाले यसप्रति सरकार र राजनीतिक दल चनाखो हुनुपर्ने बताए ।

नेता नेपालले अनुभव र दूरदर्शीताको कमीका कारण ठूला आयोजनाले अपेक्षित गति लिन नसकेको भन्दै अब संकुचित सोचबाट मुक्त भएर तीव्र आर्थिक प्रगतिको दिशामा अग्रसर हुनुपर्नेमा जोड दिए ।

सरकारले छिटोभन्दा छिटो आवश्यक कानुनहरु निर्माण गरेर भ्रष्टाचार नियन्त्रणमा लाग्न ढिलाइ गर्न नहुने धारणा उनले राखे ।

हालै सम्पन्न चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमण उपलब्धिमूलक रहेको भन्दै उनले पर्यटन र पूर्वाधार विकासमा चीनको तत्परता सकारात्मक रहेकाले यसबाट नेपालले लाभ लिन सक्नुपर्ने बताए ।(ईमेजखबरबाट साभार)