स्ववियू चुनावको बिषयलाई लिएर पोखरा इञ्जिनियरिङ कलेजमा तनाव

पोखरा, पुस २४ ।
पोखरा इञ्जिनियरिङ कलेजमा विद्यार्थी र क्याम्पस प्रशासन बीच तनाव सुरु भएको छ । स्ववियू चुनावको माग गर्दै चरणबद्ध रुपमा दवावको कार्यक्रम गर्दै आएका विद्यार्थीहरुलाई क्याम्पस प्रशासनले बाहिरका मान्छे ल्याएर कुटपिट गरेको भन्दै विद्यार्थीहरुले मंगलबार नाराबाजी सहित प्रदर्शन गरे ।

उनीहरुले सकेसम्म स्ववियू नभए विद्यार्थी कल्याणकारी परिषद्को चुनाव हुनुपर्ने माग राखेका छन् । तर क्याम्पस प्रशासनले यसबारे कुनै निर्णय दिएको छैन । ‘मुख्य माग नै स्ववियू चुनाव हो । धेरै पटक यसबारे बैठक पनि भैसकेको छ । तर क्याम्पसको तर्फबाट बैठकमै विद्यार्थीलाई अभद्र ब्यवहार भएको छ, अनेरास्ववियूका विद्यार्थी नेता सुन्दर गिरी भन्छन्–आज त बाउन्सर नै ल्याएर राखेको रहेछ । हामीले त्यसको विरोध गरेका हौं ।’

यसबाहेक विद्यार्थीहरुले लाईब्रेरीमा नयाँ र आवश्यक पुस्तकको ब्यवस्था गर्नुपर्ने, दक्ष शिक्षकको ब्यवस्था गर्नुपर्ने, मनोमानी रुपमा शुल्क लिन नपाईने, क्याम्पस हाताभित्र रहेका ब्यापारिक भवन हटाउनुपर्ने लगायत माग राखेका छन् ।

आफ्ना माग बेवास्ता गरेको भन्दै पटकपटक आन्दोलन नै गर्दै आएका छन् । क्याम्पसका प्रशासन प्रमुख काजी गुरुङले निजी क्याम्पसमा स्ववियूको अवधारणा नभएकोले समस्या आएको बताए । ‘समिति नै बनाएर यसबारे बुझेका थियौं । तर विश्वविद्यालयमा बुझ्न जाँदा निजी कलेजमा स्ववियू अवधारणा नरहेको भेटियो, उनले भने–त्यसपछि हामीसँग भएको पूरानै विद्यार्थी कल्याणकारी परिषद् छ । यसकै चुनाव गरौं भन्दा मान्नुहुन्न । यसमा पनि सबै पार्टीका विद्यार्थी संगठनहरुले नेतृत्वमा दावी गर्न मिल्छ ।’ विधान संशोधन भएर नयाँ ब्यवस्था आए स्ववियू चुनाव गराउन समस्या नहुने उनले सुनाए ।

मंगलबार जिल्ला स्थित विद्यार्थी संगठनका नेताहरुले समेत कलेजमा पुगेर विद्यार्थीको आन्दोलनमाथी समर्थन गरेका थिए । नेविसंघका केन्द्रिय सदस्य भानु ढकाल, अनेरास्ववियूका नेता नरेश रोकाया र शेखर गौतम, क्रान्तिकारी विद्यार्थी संगठनका गोविन्द गौतम लगायतले विद्यार्थीको जायज माग पूरा गराउन आग्रह गरे ।