स्याङ्जामा खानेपानीका इन्जिनियर ४ लाख घुससहित पक्राउ

पोखरा, असार १७ ।
खानेपानी तथा सफसफाइ डिभिजन कार्यालय स्याङ्जाका इन्जिनियर ४ लाख रुपैयाँ घुससहित पक्राउ परेका छन् । रौतहट घर भइ गण्डकी प्रदेश अन्तर्गतको डिभिजन कार्यालयमा कार्यरत होसी अक्तर मोहम्मत मंगलबार रंगेहात समातिएका हुन् ।

स्याङ्जामा निर्माणाधीन एक क्रमागत खानेपानी आयोजनाको रकम भुक्तानी दिने बेला आठौं तहका इन्जिनियर मोहम्मतले घुस मागेका थिए ।

मोहम्मतले घुस मागेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा जानकारी भएपछि टोली डिभिजन कार्यालयमा पुगेको थियो । पोखरादेखि गएको अख्तियारको टोलीले मोहम्मतलाई पक्राउ गरी थप अनुसन्धान थालेको छ ।