‘स्मार्ट’ चालक अनुमतिपत्र आगामी सातादेखि छापिने

 

काठमाडौं, मंसिर २० ।

‘स्मार्ट’ चालक अनुमतिपत्र छपाइमा रहेको ढिलाइ हटाउन आगामी सातादेखि दैनिक तीन कार्य समयमा अनुमतिपत्र छापिने भएको छ ।

‘मास प्रिन्टर’मार्फत दैनिक धेरै घण्टा छापेर अहिले रहेको अभाव हटाउने योजना बनाइएको हो ।

केही दिनदेखि ‘मास प्रिन्टर’ मार्फत छपाइ शुरु गरिएको यातायात व्यवस्था विभागले जनाएको छ । अहिले दिनमा एक कार्य समयमा मात्रै छपाइ भइरहेको विभागका महानिर्देशक गोगनबहादुर हमालले बताए ।

उनका अनुसार अहिले विभागका सात जना कर्मचारीले उपकरण सञ्चालनको तालीमसमेत लिइरहेका छन् । उनीहरुले तालीम सकेसँगै उपकरण पूर्णरुपमा चलाउन लागिएको हो । उनले भने, “एक साताभित्रमा तालीम सकाएर मास प्रिन्टर पूर्णरुपमा छपाइमा जानेछ ।”

मास प्रिन्टरले दैनिक साढे सात हजारसम्म चालक अनुमतिपत्र छाप्ने बताइएको छ । ‘मास प्रिन्टर’ सँगै विभागमा रहेका पुरानो छपाइ उपकरण (प्रिन्टर) पनि प्रयोगमा आउने उनको भनाइ छ ।

पुरानो उपकरण कुनैमा समस्या आए पनि विभागले मर्मत गरेर सञ्चालन गरिरहेको छ ।

अहिले पनि एक कार्य समयमा छाप्दा दैनिक दुई हजार पाँच सय कार्ड छापिरहेको छ ।

तीन कार्य समयमा चलाउन पनि विभागसँग पर्याप्त जनशक्ति रहेको उनले बताए । देशभरका यातायात व्यवस्था कार्यालयबाट आएका आवेदनका आधारमा विभागले झण्डै आठ लाख ‘स्मार्ट’ चालक अनुमतिपत्र छाप्न बाँकी छ । (रासस)