स्थिति तनावग्रस्त भएपछि कोहलपुरमा कर्फ्यू आदेश, घाइते विद्यार्थीको खुट्टा काटियो

 

नेपालगन्ज, मंसिर २२ ।

बाँकेको कोहलपुरमा स्थानीय प्रशासनले कफ्र्यू आदेश जारी गरेको छ । तीन बजेबाट अपरान्ह् ५ बजेसम्मका लागि बजार क्षेत्रमा कफ्र्यू आदेश जारी गरिएको छ ।

जिल्ला प्रशासन कार्यालय बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी कृष्णकान्त उपाध्यायले स्थिति नियन्त्रणमा लिन अनिश्चितकालिन कर्फ्यू आदेश जारी गरेको बताए ।

आज बिहान ट्रकको ठक्करबाट स्कुले छात्रा प्रगति चन्द गम्भीर घाइते भएपछि स्थिति तनाबग्रस्त बनेको थियो ।

कक्षा ७ मा अध्ययनरत प्रगतिलाई ट्रकले ठक्कर दिएपछि प्रदर्शनमा उत्रिएका विद्यार्थीहरु ट्रकमा आगो लगाउनुका साथै दर्जन बढी सवारी साधन तोडफोड गरेका छन् ।

प्रहरी र विद्यार्थीबीचको झडपमा कोहलपुरका प्रहरी प्रमुख डीएसपी हेमराज शाहीसहित ९ जना प्रहरी घाइते भएका छन् । झडपमा केही विद्यार्थीहरु समेत घाइते भएका छन् ।

घाईतेहरुको कोहलपुर मेडिकल कलेजमा उपचार भइरहेको छ । आज बिहान ना२ख ९४५९ नम्बरको ट्रकले भे ६प २७४० नम्बरको स्कुटरलाई ठक्कर दिँदा कोहलपुर–१० की प्रगति चन्द घाइते भएकी थिइन् ।

त्रिभुवन उच्च माध्यामिक विद्यालयमा कक्षा ७ मा अध्ययनरत प्रगतिको दुवै खुट्टा काटिएको छ भने गम्भीर अवस्थामा कोहलपुर मेडिकल कलेजमा उपचारमा भइरहेको छ ।

उनी स्कुटर पछाडी बसेकी थिइन् । आक्रोशित विद्यार्थीहरुले बिहानैदेखि कोहलपुर–नेपालगञ्ज सडकखण्ड ठप्प पारेका छन् ।

कोहलपुर प्रहरी चौकी घेरा हाल्नुको साथै परिसरमा रहेको एउटा क्यान्टिनमा आगजनी समेत गरिएको छ ।

स्थिति नियन्त्रणमा लिन प्रहरीले केही सेल अँश्रु ग्याँस प्रहार गरेको छ भने दर्जन बढी विद्यार्थी नियन्त्रणमा लिएको छ ।
(ईमेजखबरबाट साभार)