स्थायी लेखा नम्बर लिने ३० लाख बराबर पुगे

 

काठमाडौं, मंसिर २८ ।

स्थायी लेखा नम्बर लिनेको संख्या ३० लाख बराबर पुगेको छ ।

पछिल्लो समय करको दायरा विस्तार भएको अर्थ मन्त्रालयले जनाएको हो ।

यस अवधिमा व्यक्तिगत तथा व्यावसायिक स्थायी लेखा नम्बर लिने करदाताको संख्यामा वृद्धि भएको अर्थ मन्त्रालयको मासिक बुलेटिनमा उल्लेख छ ।

२०७६ साल साउनदेखि सरकारले एक हजार रुपैयाँमाथिको कारोबार गर्ने व्यक्तिसमेतलाई व्यक्तिगत स्थायी लेखा नम्बर अनिवार्य गरेको थियो ।

त्यसपश्चात् स्थायी लेखा नम्बर लिने करदाताको संख्या तथा राजस्व संकलनमा पनि वृद्धि भएको मन्त्रालयले जनाएको छ ।

२०७६ असार मसान्तसम्म २१ लाख ७२ हजार र कात्तिक मसान्तसम्ममा यो संख्या ३४.८ प्रतिशतले बढेर २९ लाख २७ हजार पुगेको अर्थ मन्त्रालयले जनाएको छ ।

२०७६ कात्तिक मसान्तसम्ममा व्यावसायिक स्थायी लेखा नम्बर १२ लाख ८४ हजारले लिएका छन् भने १६ लाख ३१ हजारले व्यक्तिगत स्थायी लेखा नम्बर लिएको मन्त्रालयले जनाएको छ ।

कात्तिक मसान्तसम्ममा दुई लाख ३७ हजार मूल्य अभिवृद्धि करदाताहरु रहेका छन् । यसै अवधिमा २३ हजार बढी नयाँ करदाताहरु थपिएका छन् ।

कात्तिक मसान्तसम्ममा ९१ हजार ८०० रोजगारदाताहरु अन्तःशुल्कमा दर्ता भएको आन्तरिक राजस्व विभागले जनाएको छ ।

चालू आर्थिक वर्षको चार महिनाको अवधिमा दुई खर्ब ५६ अर्ब बढी राजस्व संकलन भएको छ । अघिल्लो वर्षको सोही अवधिमा दुई खर्ब ४७ अर्ब राजस्व संकलन भएको थियो ।
(ईमेजखबरबाट साभार)