स्थानीय तहको चुनावमा ४ नम्बर प्रदेश-कसको प्रभाव कति

प्रकाश ढकाल
पोखरा, असोज ३१ ।
देशभरीमा ४ नम्बर प्रदेश बढी नै संबेदनशिल छ । स्थानीय तहको नतीजाले नेपाली काँग्रेस अरु दल भन्दा अगाडी छ । यद्यपी दोश्रो बनेको नेकपा एमाले पनि ठूला तहहरुमा बिजयी भएकाले निर्वाचन क्षेत्रगत चुनावमा स्थानीय तहको भन्दा फरक नतिजा आउन सक्ने सम्भावना छ ।
४ नम्बर प्रदेशको ८५ स्थानीय तह मध्ये नेपाली काँग्रेसले ४४ तहमा जीत हात पारेको छ भने एमाले ३४ तहमा बिजयी भएको छ । माओवादी केन्द्रले भने पूरै प्रदेशका ८५ मध्ये जम्मा ५ तहमात्रै जित्न सफल भएको छ ।
त्यसैगरी ४ नम्बर प्रदेशमा राष्ट्रिय जनमोर्चाले १ स्थान र स्वतन्त्रले एक स्थानीय तह जितेका छन् । मनाङमा उपाध्यक्ष मात्रै जितेका स्वतन्त्र र मुस्ताङमा एक अध्यक्ष र एक उपाध्यक्ष स्वतन्त्र जनप्रतिनिधि का रुपमा बिजयी भएका थिए । यद्यपी मुस्ताङबाट बिजयी भएका गाउँपालिकाका स्वतन्त्र अध्यक्ष एमालेमा प्रबेश गरिसकेका छन् ।
कांग्रेसले गोरखा, तनहुँ र नवलपुरमा एकल बहुमत पाएको छ । एमालेले स्याङ्जा, कास्की, पर्वत र लम्जुङमा एकल बहुमत पाएको छ । अन्य जिल्लामा भने कुनै पनि दलको एकल बहुमत छैन ।
कांग्रेसले सबैभन्दा ठूलो सफलता गोरखामा पाएको छ । गोरखाका ११ मध्ये उसले ९ स्थानीय तह जितेको छ । त्यस्तै तनहुँमा ६, स्याङजामा ४, कास्कीमा १, नवलपरासीमा ६, मनाङमा २, मुस्ताङमा ३ र पर्वतमा ३ वटा स्थानीय तह जितेको छ । त्यस्तै लमजुङमा २, म्याग्दीमा ४ र बागलुङका ४ स्थानीय तह पनि कांग्रेसले जितेको छ ।
प्रदेशमा कांग्रेसको भन्दा दोब्बर अर्थात ४ जिल्लामा बहुमत पाएर पनि एमाले समग्र प्रदेशको नतिजामा कांग्रेसभन्दा १० स्थान पछाडि परेको छ । पोखरा महानगरपालिका जितेका कारण एमालेले कांग्रेसलाई धक्का भने दिएको छ । पोखरा यो प्रदेशको एकमात्र महानगरपालिका हो । र, यो ४ नम्बर प्रदेशको प्रश्तावित राजधानी पनि हो ।
एमालेले स्याङजामा ७, लमजुङमा ५, तनहुँमा ३, कास्कीमा ४, मनाङमा २ र मुस्ताङमा १ स्थानीय तह जितेको छ । त्यस्तै पर्वतमा ४, म्याग्दीमा २, बागलुङमा ४ र नवलपरासीमा २ स्थानीय तह एमालेले जितेको छ ।
गोरखाबाट जनयुद्ध शुरु गरेको माओवादी भने आफ्नै आधारभूमिमा निकै कमजोर देखिएको छ । गोरखामा माओवादीलाई नयाँ शक्तिले हराउने भूमिकामा सफलता पाएको छ । गोरखामा माओवादीले ११ मध्ये २ स्थानीय तहमात्रै जितेको छ । ४ नम्बर प्रदेशका अधिकांश जिल्लामा माओवादीले प्रमुख र उपप्रमुख जित्न सकेन । माओवादीले पाएको जम्माजम्मी ५ वटा सीटमा गोरखाका २ स्थान छन् भने तनहुँ र लम्जुङमा एक–एक स्थान माओवादीले जितेको छ । त्यस्तै बागलुङमा पनि माओवादीले एक स्थान जितेको छ । जितेका ठाउँमा पनि निकै कम मात्रै मतान्तर देखिएको छ ।
यति हुँदाहुँदैपनि काँग्रेसले यो प्रदेशमा अपेक्षाकृत उपलब्धी निकाल्न सकेन । ४ नम्बर प्रदेश काँग्रेसका लागि निकै महत्वपूर्ण आधारभूमी हो । गोरखा र नवलपरासीले कांग्रेसलाई बहुमत दिलाउन सफल रह्यो । माओबादी फुटको फाइदा गोरखामा काँग्रेसले मज्जैसँग लिएको छ ।
कांग्रेसको गढका रुपमा मानिने स्याङजा, लमजुङ र पर्वतमा एमालेले बहुमत पायो । मनाङमा सांसदको चुनावमा समेत निर्विरोध हुने कांग्रेस यसपटक एमालेसँग बराबरीमा रोकिएको छ । बरु म्याग्दीमा भने कांग्रेसले एमालेको गढ तोडेको छ । बेनी नगरपालिकामा ४५ मतले कांग्रेसले मेयर जित्दा स्तब्ध भएको एमाले जिल्लामा दोस्रो पार्टी बन्न पुगेको छ । यद्यपी केही स्थानीय तहमा अन्तरपार्टी तालमेल चलेको थियो । त्यसले कुनै पार्टीलाई फाईदा भएपनि कुनै पार्टीले त्यसको फाईदा उठाउन सकेन ।