स्थानीय तहका जनप्रतिनिधिले दोहोरो सुविधा लिन पाउने

पोखरा, असार २६ ।
लमजुङको क्होंलासोथर गाउँपालिकाकी उपाध्यक्ष कुमारीमुनी गुरुङले राज्यकोषबाट दोहोरो सुविधा लिएको खुलासा भयो । प्राथमिक तहमा शिक्षिकाबाट रिटायर्ड भएकी उनले पेन्सन बुझ्दै आएकी थिईन् । गाउँपालिकामा निर्वाचित भएपछि उनले पेन्सन र गाउँपालिका उपाध्यक्षको दुवै सुविधा भोग गरिन् । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङका धर्मपत्नी समेत रहेकी उनले उपाध्यक्षको मासिक तलव २६ हहजार र सञ्चार सुविधा पाउँथिन् ।

स्कूलको पेन्सन समेत निरन्तर लिईरहेकी छिन् । उनीजस्तै निमावि तहका पूर्व शिक्षक पर्वत महाशिला १ नम्बर वडाका अध्यक्ष ईश्वरीप्रसाद भुसालले चाहीँ पेन्सन मात्रै लिए । वडाध्यक्षको सुविधा नलिने घोषणा गरे । धेरैजसो स्थानीय तहमा यस्तो समस्या छ । तर गण्डकी प्रदेश सरकारले स्थानीय तहका जनप्रतिनिधिले पनि दोहोरो सुविधा लिन पाउने गरी ऐन संशोधन गरिदिएको छ ।

पहिले स्थानीय तहका पदाधिकारी तथा सदस्यहरुले दोहोरो सुविधा लिन नपाउने ऐनमा ब्यवस्था थियो । तर प्रदेशसभाका सांसदहरुलाई चाहीँ दोहोरो सुविधा लिन नपाउने गरी अवरोध थिएन । अवदेखि स्थानीय तहका जनप्रतिनिधिलाई पनि दोहोरो सुविधा लिन ऐनले छेक्दैन ।

बुधबार बसेको मन्त्रिपरिषद् बैठकले स्थानीय तहका पदाधिकारीलाई दोहोरो सुविधा रोक्ने ऐनको दफा नै हटाउने निर्णय गरेको हो । यसको लागि ऐन संशोधन गरेर प्रदेशसभा बैठकमा पेस गरिने सरकारका प्रबक्ता रामशरण बस्नेतले बताए ।