सोंथर बेँसीमा बैशाख ८ गते बाट खुल्ला ‘फोर ए’ साइड फूटबल प्रतियोगिता हुने

पोखरा, बैशाख ३ ।
कास्कीको मादी गाउँपालिका वडा नम्बर ८ र १० को सिमानामा पर्ने सोंथर बेँसीमा अगामी बैशाख ८ गते शुक्रवार बाट खुल्ला फोर ए साइड फुटबल प्रतियोगिता हुने भएको छ । मादी –८ मा पर्ने नागीधार ,पाखुरीकोट गाउँ र मादी –१० मा पर्ने भाचोक गाउँको संगम बेँसीको रुपमा रहेको सो बेँसीमा प्रतियोगिता हुन लागेको खेल संयोजक किशान बिकले जानकारी दिएका छन् ।

प्रतियोगितामा २५ टीम बढि सहभागी हुने अपेक्षा गरिएको छ । प्रति टीममा ४ जना खेलाडी साथै ३ जना बैकल्पिक हुनेछन् । प्रतियोगितामा बिजेता टीम लाई नगद २५ हजार, उपबिजेता लाई नगद १५ हजार सहित शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिने बिकले जानकारी दिए ।

सोंथर बेँसी फार्महाउस एन्ड होमस्टेको आयोजनामा सो प्रतियोगिता हुन लागेको हो । प्रतियोगिता सम्पन्न गर्न २ लाख बढि अनुमानित खर्च लाग्ने आयोजक सोंथर बेँसी फार्महाउस एन्ड होमस्टे समुहका सदस्य एवम् सोंथर बेँसी विकास समितिका उपाध्यक्ष आस बहादुर गुरुङले बताए ।

८ गतेबाट शुरु हुने सो प्रतियोगिताको अवसर पारेर ९ गते शनिवार निशुल्क स्वास्थ्य शिबिर समेत सन्चालन हुने गुरुङ्ले बताए । सोंथर बेँसीको प्रवर्धन साथै सोंथर बेँसीमा सन्चालित सोंथर बेँसी फार्महाउस एन्ड होमस्टेको प्रचारप्रसारका लागी प्रतियोगिता आयोजना गरिएको होमस्टे समुहका अध्यक्ष ओम प्रकाश गुरुङले बताएका छन् ।

सोंथर बेँसी कृषि र पर्यटनको ठुलो सम्भावना रहेतापनि प्रचारप्रसारको अभावमा पछि परेको भन्दै समय समयमा यस्ता विभिन्न प्रवर्धनात्मक कार्यक्रमहरु गरिराख्नु पर्ने मादी ८ का जनप्रतिनिधि एवम् सोंथर बेँसी विकास समितिका अध्यक्ष समेत रहेका गुरुङले बताए । साथै सोंथर बेँसी बाट लम्तरी डाँडा र सबुपोखरी डाँडा समेत नजिकै रहेको हुँदा निकट भविष्यमा ब्यवस्थित रुपमा ट्रेकिङ रुट समेत विस्तार गर्न सकिने गुरुङ्ले बताएका छन् ।

यस अघि २०७९ फागुन १ ,२ र ३ गते एतिहासिक सोंथर बेँसी टारी बजार मेला समेत आयोजना गरिएको गुरुङले बताए ।
३५ वर्स अघि निकै प्रख्यात रहेको सोंथर बेँसी मेला थप परिस्कृत गर्दै पुन ३५ वर्स पछि आयोजना गरिँदा गाउँबासीहरु निकै खुशी भएको र मेलाले सोंथर बेँसी लगायत सो क्षेत्रको राम्रो प्रचार गरेको गुरुङले बताएका छन् ।

पोखरा बाट ३० किलोमिटरको दुरीमा पर्ने सोंथर बेँसी विभिन्न ठाउँहरु बाट सजिलै पुग्न सकिन्छ । पोखरा –२६ बिजयपुर बाट कालिका सौरे भगवतीटार हुँदै थुम्सीकोट २० किलोमिटरमा पुगिन्छ । पोखरा –१३ भद्रकाली चोक बाट काहुँखोला कसेरी चितेपानी भैंसे तारकाङ बेँसी बाट भगवतीटार हुँदै थुम्सीकोट १८ किलोमिटरमा पुगिन्छ । त्यस्तै पोखरा –३१ बेगनास बाट स्याङखुदी सौरे भगवतीटार हुँदै थुम्सीकोट १६ किलोमिटरमा पुगिन्छ । त्यस्तै लमजुङको भोर्लेटार करापुटार बाट कल्याङबेँसी हुँदै मुग्रीबेँसी भएर पनि थुम्सीकोट पुगिन्छ । थुम्सीकोट बाट मकैखोला कयारे ढोडेनी भाचोक लुम्दी गाउँ हुँदै १० किलोमिटरमा सोंथर बेँसी सजिलै पुगिन्छ । हाल पोखरा बाट सोमबार र शुक्रवार गरी हप्ताको २ दिन सोंथर बेँसी बस समेत सन्चालन भएको सोंथर बेँसी विकास समितिका सचिव डिल्लीराज गिरीले बताए ।

सोंथर बेँसीमा हाल फार्महाउस तथा होमस्टेहरु समेत सन्चालनमा रहेको छ । ठुलो टारी फाँटमा फैलिएको सोंथर बेँसी नजिकै लेक बाट बगेर आएको वार्दी खोला र पशुचौपायका गोठहरु समेत रहेकोले सोंथर बेँसीमा पुगेका जोकोहि आनन्दित हुने सोंथर बेँसी विकास समितिका सल्लाहकार इमनाथ अधिकारीले बताए ।

सोंथर बेँसीमा बग्ने वार्दी खोलामा दुवाली थुनेर असला माछा मार्दै पौडी खेल्दै आनन्द लिन सकिने छ । बेँसीको सिरान देखि पुछार सम्म सबै समयमा वार्दी खोलाको पानी ल्याउन सकिने र खेतका गराहरु समेत समथर रहनुका साथै अन्नबाली समेत राम्रै फल्ने हुँदा कृषिको प्रचुर सम्भावना रहेकोले आफुहरु कृषिमा सक्रिय पुर्वक लागेको सोंथर बेँसी कृषक समुहका अध्यक्ष इन्द्र गिरीले बताए । समुहले कृषि ज्ञान केन्द्र कास्कीको विउ अनुदान सहयोगमा यस वर्स मात्रै ३ हजार केजी आलु विउ लगाई आलु उत्पादन गरी बिक्री समेत गरेको गिरीले बताए ।