सेनाभित्रको भ्रष्टाचारले लोकतन्त्र खतरामा : सांसद सिंह

 

काठमाडौं, फागुन १ ।

नेपाली कांग्रेसका सांसद अमरेशकुमार सिंहले नेपाली सेनाभित्रको भ्रष्टाचारका कारण नेपालको लोकतन्त्र खतरामा परेको बताएका छन् ।

फास्ट ट्र्याक निर्माण, हेलिकप्टर खरिद जस्ता विषयमा सेनाभित्र भ्रष्टाचार भएको भन्दै उनले बिहीबार प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिमा भने, ‘नेपाल आर्मी भित्रको भ्रष्टाचारका कारण नेपालको लोकतन्त्र खतरामा परेको छ ।’

नेपाली सेना विकास निर्माण र शिक्षाको क्षेत्रमा समेत रहेको भन्दै उनले त्यसको विरोध गरे । ‘नेपाली सेना ठेकेदार हो कि के हो ? स्कुल कलेज पनि सञ्जालत गरिरहेको छ’ उनले भने ।

नेपाली सेना भित्रको भ्रष्टाचार र अनियमितताबारे छानविन हुनुपर्ने उनको माग छ । प्रदेश २ मा अघिल्लो आर्थिक बर्षको बजेट चालु आर्थिक बर्षमा खर्च भइरहेको पनि उनले सुनाए ।

पछिल्लो समय स्थानीय तहमा भ्रष्टाचार र अनियमिता बढेको भन्दै सांसद सिंहले सबै क्षेत्रको भ्रष्टाचार र अनियमितताबारे राज्य व्यवस्था समितिले गम्भीरतापूर्वक अध्ययन गर्नुपर्ने माग गरेका छन् ।
(अनलाइनखबरबाट साभार)