सेनाको गस्ती सुरू, चिनियाँ सैनिकसहित ४ तहको सुरक्षा घेराभित्र सी

काठमाण्डौं, असोज २५ ।
चिनियाँ राष्ट्रपति सी चिनफिङ आउने भएपछि राजधानीमा सुरक्षा व्यवस्था कडा पारिएको छ । शनिबार बिहानैदेखि नेपाली सेना ब्यारेकबाट निस्किएर मुख्य मुख्य सडकमा गस्ती गरिरहेको छ । सी हिड्ने मुख्य सडकहरु विशेष निगरानीमा राखिएको जनाइएको छ ।

राष्ट्रपति सीको सुरक्षाका लागि ४ तहको सुरक्षा घेरा निर्धारण गरिएको छ । पहिलो घेरामा नेपाली सेना, दोस्रोमा नेपाल प्रहरी, तेस्रोमा सशस्त्र प्रहरी बल र चौथोमा राष्ट्रिय अनुसन्धान विभागका सादा पोशाकका सुरक्षाकर्मी रहनेछन् । साथै चीनबाटै आएका सेना र विशेष कमाण्डो समेत सी को साथमै रहने बताइएको छ ।

सुरक्षालाई नै मध्यनजर गरी सडकमा ट्राफिक प्रहरीको संख्या उल्लेख्य मात्रामा बढाइएको छ । मुख्य सडकमा रुट नै बदलेर सवारीसधान डाइभर्टको व्यवस्था गरिएको छ । नेपाल प्रहरीले सवारीसाधनको जाँचमा समेत कडाइ गरेको छ । साथै सडकमा जथाभावी हर्न बजाउन समेत निषेध गरिएको छ ।