सेतीनदीको सुरुङमा पर्यटक पठाउने पोखरा महानगरको तयारी

पोखरा, भदौ २ ।
पोखरा महानगरपालिकाले सेती गर्ज सर्वसाधारणका लागि खोल्ने भएको छ । पर्यटनको गन्तब्य बनाउनका लागि सम्भाब्यता अध्ययन गर्ने र संरचना निर्माणपछि गर्ज खोल्ने तयारी गरिएको हो । महानगरपालिकाको कार्यपालिका बैठकले सेती गर्जको सम्भाब्यता अध्ययन गर्ने निर्णय गरेको छ ।

यस्तै बैठकले पोखरा पोलिटेक्निकल इन्स्टीच्युट स्थापना गर्ने निर्णय पनि गरेको छ । पोखरा क्षेत्रको मापदण्ड कायम गर्न गठीत भरत पहारी संयोजक रहेको समितिले तयार पारेको प्रतिवेदन अध्ययनका लागि छुट्टै समिति गठन भएको छ ।

समितिमा महानगरका प्राविधिक सहित नेकपा र काँग्रेसका सचेतक सदस्य छन् । नेकपाको सचेतकमा वडा नम्बर १९ का अध्यक्ष शोभामोहन पौडेल र काँग्रेस सचेतकमा वडा नम्बर ९ का अध्यक्ष रामराज लामिछाने छन् । समितिले प्रतिवेदन अध्ययन गरी आवश्यक सुझाव पेश गर्नेछ ।

‘मापदण्ड धेरै विवादित रह्यो । बस्ती विकास निर्देशिका ब्यवहारिक भएन । तराई र काठमाण्डौंलाई बनाएको मापदण्ड पोखरा र पहाडी क्षेत्रमा लागू गर्न गाह्रो भयो, नेकपा सचेतक पौडेल भन्छन्–यसलाई हरेक स्थानीय तहले आफ्नो आवश्यक्ता अनुसार मापदण्ड बनाएर कार्यान्वयन गर्ने स्वायत्तता छ । हामी त्यही गर्दैछौं ।’

काँग्रेस वडाध्यक्ष शंकर बास्तोला पनि महानगरको स्वरुप नविग्रिने गरी मापदण्ड बनाउनुपर्ने सुझाव दिन्छन् । ‘पोखराको सुन्दरता नविग्रिने गरी मापदण्ड बनाउनुपर्छ । अहिलेलाई सजिलो पार्न मापदण्ड घटाउनुभन्दा दीर्घकालका लागि सोचौं, उनले भने–भावी सन्ततीलाई पनि महानगरको अस्थित्व हस्तान्तरण गर्नुपर्छ ।’