सुनसान अस्पताललाई कलेजको सम्बन्धन (पढ्नुस हालत)

काठमाण्डौं, साउन ४ ।
लोकन्थली पुलमा राखेको ब्यानरमा लेखिएको सेवा सुविधा हेर्दा लाग्छ– समिट अस्पताल चौबीसै घन्टा सञ्चालनमा छ । र, बिरामीको चाप थेगिनसक्नु छ । तर अस्पतालको गेटभित्र छिरेपछि थाहा हुन्छ– यहाँ बिरामीको संख्या शून्य छ ।

कान्तिपुर लेख्छ– ओपीडीमा पनि फाट्टफुट्ट बिरामी आउँछन् । आईसीयू सुविधासमेत भएको अस्पतालमा साताअघि पुग्दा जनरल वार्डमा एकजना पनि बिरामी थिएनन् , बेडमा बोराका ठूल्ठूला पोका थिए । नर्सिङ स्टेशन र आकस्मिक कक्ष सुनसान थिए ।

कान्तिपुरका अनुसार शिक्षा मन्त्री अध्यक्ष हुने सीटीईभीटी परिषद् भने यो सुनसान अस्पताललाई नर्सिङ कार्यक्रमको सम्बन्धन दिने अन्तिम तयारीमा छ । सीटीईभीटीका उपाध्यक्षको संयोजकत्वमा बसेको सल्लाहकार समितिको बैठकले यो अस्पताललाई सम्बन्धन दिन सिफारिस गरेको छ । सम्बन्धन दिन लागिएको कलेजको सूचीमा यो अस्पताल १३ औं नम्बरमा छ ।