सीसँग डिनरको ड्रेसकोड : तुनावाला कालो जुत्ता अनिवार्य

 

काठमाडौं, असोज २५ ।

चिनियाँ राष्ट्रपति सी जिनफिङको स्वागतमा राष्ट्रपति विद्यादेवी भण्डारीले दिने रात्रिभोजमा सहभागी हुनेहरु कडा अनुशासनमा बस्नुपर्ने भएको छ । सोल्टी होटलमा साँझ ७ बजेपछि हुने रात्रिभोजमा सहभागी हुने अतिथिहरुले पोशाकको रंगदेखि खाना खाने समयमा समेत ध्यान दिनुपर्ने भएको छ ।

परराष्ट्र मन्त्रालयले निम्तो कार्डसँगै अतिथिहरुले पालना गर्नुपर्ने नियम बुँदागत रुपमा लेखेर पठाएको छ ।

रात्रिभोजमा सहभागी हुने पुरुषहरुले नेपालको राष्ट्रिय पोशाक दौरा, सुरुवाल र ढाका टोपी लगाउनु पर्नेछ । राष्ट्रिय पोशाक नलगाउनेहरुले सेतो सर्ट र गाढा कालो रंगको सुट लगाउनुपर्ने छ । जुत्ता भने तुनावाला कालो रंगको हुनुपर्ने छ । महिलाहरुलाई सारी वा गाढा रंगको सुट लगाउन मन्त्रालयले भनेको छ ।

अतिथिहरुलाई सुरक्षा जाँच गराएरमात्र रात्रिभोज स्थलमा प्रवेश दिइने छ । त्यसैले तोकिएको समयभन्दा ४५ मिनेट अगाडि नै भोजस्थलमा पुगिसक्न भनिएको छ ।

भोजको बेला मोबाइल फोन अफ गर्न र तस्वीर नखिच्न भनिएको छ ।

प्रमुख अतिथि सी जिनफिङले खाना खान सुरु गरेपछि मात्र अरुले खान सुरु गर्नु पर्ने छ ।

खाना खाइरहेको बेला उठ्न पाइने छैन र चिनियाँ राष्ट्रपति सी हलबाट बाहिर निस्किएपछि मात्र अन्य अतिथिहरु आफ्नो स्थानबाट उठ्नुपर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ ।
(अनलाइनखबरबाट साभार)