सिहंदरबारको ’वार रुम’बाटै गरे प्रधानमन्त्रीले जलविद्युतको उद्घाटन

 

काठमाडौं, मंसिर २ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले ६० मेगावाटको त्रिशूली थ्री ए जलविद्युत परियोजनाको उद्घाटन गरेका छन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा रहेको ‘वार रुम’बाट स्वीच थिचेर प्रधानमन्त्री ओलीले परियोजनाको उद्घाटन गरेका हुन् ।

उद्घाटनपछि प्रधानमन्त्री ओलीले यो परियोजनाको शुरुवात सँगै ’सुखी नेपाली सम्बृद्ध नेपाल’ को नाराले सार्थकता पाएको जानकारी दिए ।

उनले अब सरकारको ध्यान देशमा गरिबी घटाउनतर्फ लक्षित हुने समेत बताए । प्रधानमन्त्री ओलीसँगै उद्घाटन कार्यक्रममा मन्त्रीहरुको समेत सहभागिता थियो ।

यता, परियोजना उद्घाटन समारोहमा भाग लिन ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुन भने नुवाकोटको किसपाङ गाउँपालिका पुगेका थिए ।

परियोजनाले आठ महिनाअघि नै विद्युत उत्पादन सुरू गरेको थियो । गत चैत्रदेखि नियमित विद्युत् उत्पादन सुरु गरेको माथिल्लो त्रिशूली ‘ए’ आयोजनाको आज औपचारिक उद्घाटन गरिएको हो ।

लामो प्रयास र मिहेनतपछि ६० मेगावाट क्षमताको आयोजना सम्पन्न भएको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए ।

सरकारले ऊर्जा क्षेत्रलाई आर्थिक समृद्धिको आधारका रूपमा स्थापित गरेको छ । यो आयोजनाबाट मुलुकभित्र खपत हुने ऊर्जामा करिब ८ प्रतिशत योगदान रहेको बताइएको छ ।

अनुमानित लागत १२ अर्ब ६० करोड रहेको आयोजना नेपाल सरकार एवं प्राधिकरणको लगानी र चिनियाँ आयात निर्यात बैंकको सहुलियतपूर्ण ऋणमा निर्माण भएको हो ।

इन्जिनियरिङ, खरिद र निर्माण (इपीसी) ढाँचामा विद्युतगृह, बाँध, सुरुङलगायतका संरचना र इलेक्ट्रोमेकानिकल तथा हाइड्रो मेकानिकलको काम गर्नेगरी चिनियाँ कम्पनी गेजुवासँग २०६७ साल जेठ १४ गते सम्झौता भएको थियो ।

२०७१ मा आयोजना सम्पन्न गर्ने लक्ष्य राखिएको थियो । त्यसबेला चिनियाँ कम्पनीसँग ८ अर्ब ९१ करोड ७८ लाखमा ठेक्का सम्झौता भएको थियो ।

सुरुमा विद्युतगृह भूमिगत बनाउने या सतही बनाउने विवाद, क्षमता बढाउने निर्णयलगायत कारणले आयोजनाको निर्माण ढिलाइ भएपछि २०७३ साल असार १६ सम्म म्याद थप भएको थियो ।

प्राधिकरणका अनुसार यो आयोजनाबाट करिब ९ महिना पूर्ण क्षमतामा विद्युत् उत्पादन हुनेछ । यस्तै हिँउदमा भने ४५ मेगावाट विद्युत् उत्पादन गर्नेछ ।

आयोजनाबाट उत्पादित विद्युत् त्रिशूली–काठमाडौं २२० केभी क्षमताको प्रसारण लाइनमार्फत राष्ट्रिय प्रसारण प्रणालीमा जोडिएको छ ।(ईमेजखबरबाट साभार)