सिलवालमाथि प्रहरी आचरणविरुद्धको कारबाही

काठमाडौं, असोज २१ ।
प्रहरी प्रधान कार्यालयले डिआइजी नवराज सिलवालविरुद्ध आचारण विरुद्धको कारबाहीको प्रक्रिया अघि बढाउने भएको छ । प्रहरी नियमावलीमा रहेको कानुनी प्रावधान अनुसार बहालवाला प्रहरी अधिकारीलाई राजनीतिक क्रियाकलापमा पूर्ण बन्देज लगाइए पनि डिआइजी सिलवाल आफूले बुझाएको राजीनामाको टुंगो नलाग्दै शुक्रबार एमालेमा प्रवेश गरेका छन् ।
प्रहरी प्रधान कार्यालय कानुन शाखाका प्रमुख एसपी गोविन्द थपलियाले बहालवाला प्रहरी अधिकारीले संगठनमै रहँदा राजनीतिक क्रियाकलाप गरेमा आचरणविरुद्धको कारबाही हुने बताए । उनले डिआइजी सिलवालको राजीनामा स्वीकृत÷अस्वीकृत के भएको हो, त्यसबारे भने आफूलाई कुनै जानकारी नभएको बताए ।
पूर्वमहान्यायाधिवक्ता रमण श्रेष्ठले पनि सिलवालमाथि आरचरविरुद्धको कारबाही हुनुपर्ने बताए । उच्च प्रहरी स्रोतका अनुसार आवश्यक पर्दा सिलवालमाथि कीर्ते मुद्दा चलाउनका लागि उनको राजीनामा थाँती राखिएको हो । ‘तर, अहिले गृहमन्त्री जनार्दन शर्माको पार्टी माओवादी केन्द्र नै एमालेसँगै एकता प्रक्रियामा गएपछि एमाले नै प्रवेश गरेका सिलवालमाथि के कारबाही होला र ?’ गृहका एक सह–सचिवले भने ।
सर्वोच्च अदालतमा उनले दिएको रिट निवेदन भदौ २७ मा पूर्ण इजलासले खारेज गरेपछि भदौ २८ मा प्रहरी सेवाबाट राजीनामा दिएको पत्र सिलवालले प्रहरी प्रधान कार्यालयमा बुझाएका थिए । सरकारले बरियता मिचेर डिआइजी जयबहादुर चन्दलाई आइजिपी सिफारिस गरेपछि उनी सर्वोच्च अदालत पुगेका थिए ।