सिन्धुपाल्चोक बस दुर्घटनामा मृत्यु हुनेको संख्या १५ पुग्यो, घाइते अधिकांशको अवस्था गम्भीर

 

सिन्धुपाल्चोक, मंसिर २९ ।

सिन्धुपाल्चोकको ६ किलोमा भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या १५ पुगेको छ ।

घाइते १७ मध्ये अधिकाशको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । मृतकमध्ये सिन्धुपाल्चोक जुगल ७ का २८ बर्षिय सुक बहादुर तामाङ, सोही स्थानका सात बर्षिया सविना तामाङ, दोलखाको भिमेश्वर नगरपालिका–९ की ३७ वर्षिया जुनुमाया तामाङ, सोही स्थानकी २८ वर्षिया मन्जु तामाङ र रामेछापको उमाकुण्ड गाउँपालिका–५ का २८ बर्षिय महेश तामाङको मात्र सनाखत भएको छ ।

दोलखाको कालिन्चोकबाट काठमाडौं आउने क्रममा बा ४ ख ४४६८ नम्बरको बस ६ किलो मोडमा दुर्घटना भएको हो ।

बस आज(आइतबार)बिहान लामो साँघु चरिकोट सडकखण्डमा पर्ने सुनकोशी–७ मा सडकबाट करीब ३ सय मिटर तल खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

६ किलो मोडबाट पल्टिएको बस तल सडकमै पुगेको थियो । भक्तपुरबाट हिजो रिजर्भ गरेर कालिन्चोक भगवती मन्दिर दर्शनका लागि गएको बस फर्कँदै गर्दा दुर्घटनामा परेको हो । बसमा ३२ जना सवार रहेको प्रहरीले जनाएको छ । बस क्षत विक्षत भएको छ ।

ब्रेकमा समस्या देखिएको बस चालकले जर्बजस्ती चलाउँदा दुर्घटना भएको प्रहरीले जनाएको छ । बस चालक फरार छन् । घाइतेहरुको खाडीचौर र धुलिखेलअस्पतालमा उपचार भईरहेको छ । (ईमेजखबरबाट साभार)