सिद्धार्थ मा.विमा डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ सुरु

 

फेदीखोला, असोज ३ ।

फेदीखोला गाउँपालिकाको वडा नं. २ स्थित सिद्धार्थ माविमा बुधबारबाट डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ कक्षा सञ्चालनमा आएको छ । फेदीखोला गाउँपालिकाको विशेष पहलमा सिटिइभिटीबाट सम्बन्धन प्राप्त उक्त कोर्ष गण्डकी प्रदेशमा सामुदायिक विद्यालयतर्फ सिद्धार्थ माविले पहिलो पटक सञ्चालनमा ल्याएको हो ।

छ सेमेष्टर गरि तीन बर्ष सम्म पढाइ हुने उक्त कोर्षले विशेषत सफट्वयर डेभलपमेन्ट, नेटवर्किङ तथा डाटावेस, कम्प्युटर ग्राफिक्स तथा एनिमेशन, इलेक्ट्रिल क्षेत्रमा जनशक्ति उत्पादन गर्ने विद्यालयले जानकारी दिएको छ ।

कार्यक्रमको उद्घाटन गर्दै जिल्ला समन्वय समिति स्याङ्जाकी प्रमुख सिता सुन्दासले सैद्धान्तिक विषयका शिक्षाले देशमा शैक्षिक बेरोजगारी बढाएको बताइन् । देशलाई समृद्धितर्फ लैजान प्राविधिक शिक्षालाई शैक्षिक नीतिले प्राथमिकतामा राखेको भन्दै उनले गाउँपालिकामा प्रविधि र प्राविधिक शिक्षाका विभिन्न आयामहरुले निरन्तरता पाउनु गर्वलायक भएको बताइन् । समृद्ध राष्ट्र बनाउने योजनामा प्राविधिक जनशक्तिको अभाव खड्किएको उनले भनाई थियो । स्थानीय तहबाट नै गुणस्तरीय प्राविधिक शिक्षा पढाउन अन्य निकायहरुले थालनि गर्नुपर्ने पनि उनले बताइन् । साथै उक्त प्राविधिक शिक्षालयलाई आफू र केन्द्र सरकारबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरिन् ।

कार्यक्रमका विशिष्ट अतिथी तथा गाउँपालिका अध्यक्ष घनश्याम सुवेदीले गाउँपालिकालाई प्राविधिक शैक्षिक हब बनाउने उद्देश्यले स्थापनाकाल देखि नै प्रत्येक विद्यालयमा प्रविधि र प्राविधिक शिक्षालाई प्राथमिकता दिँदै आइएको बताए । सुरुवाती बर्षबाट नै प्रत्येक सामुदायिक विद्यालयमा कम्प्युटर शिक्षा अनिवार्य गरेर आइटी तथा कम्प्युटर इन्जिनियरहरुद्वारा अध्यापन भइरहेको सुवेदीले जानकारी दिए । गाउँपालिकालाई शैक्षिक हब बनाउने उद्देश्य अनुरुप प्रत्येक विद्यालयमा प्राविधिक विषयमा डिप्लोमा कोर्षहरु गरिने अध्यक्ष सुवेदीले बताए । ‘अब अर्को बर्ष यही विद्यालयमा विज्ञान र अन्य माध्यमिक विद्यालयमा आवश्यक अनुसारका प्राविधिक कोर्षहरु सञ्चालनमा ल्याउन पहल गरिनेछ,’ गाउँपालिका अध्यक्ष सुवेदीले भने । गाउँपालिकाको बिशेष पहलमा गण्डकी प्रदेशले गाउँपालिकाको वडा नं. १ गुर्दुममा प्राविधिक महाविद्यालय सञ्चालन ल्याएपछि गाउँपालिका प्राविधिक शिक्षाको केन्द्र बन्नेमा आफु विश्वस्त रहेको उनको भनाइ थियो ।

उक्त महाविद्यालयमा विभिन्न इन्जिनियरिङ तथा प्राविधिक शिक्षाका कोर्षहरु सञ्चालन हुने तथा १ हजार बढि विद्यार्थीलाई पढाइनेछ । महाविद्यालयको पुर्वाधार तथा सर्भेका लागि मात्र प्रदेश सरकारले साँढे ४ करोड रकम विनियोजन गरेको छ ।

कार्यक्रममा बोल्दै विद्यालयका प्रधानाध्यापक मनोजकुमार शर्माले विद्यालयले शैक्षिक गुणस्तरमा कुनै कमी हुन नदिने प्रतिबद्धता व्यक्त गरे । गाउँपालिकाले प्राविधिक शिक्षालय स्थापनार्थ खेलेको भूमिकाले विद्यालय आभारी रहेको बताउँदै लगानी अनुसारको प्रतिफल दिन विद्यालय सक्षम रहेको उनले बताए ।

कार्यक्रमको समापन गर्दै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चित्रबहादुर कार्कीले सुरुवाती चरणमा विद्यार्थीको संख्या कम देखिएपनि आगामी बर्षमा गुणस्तरीयताकै कारण विद्यार्थीको चाप बढ्ने दावी गरे । २०५४ सालमा १२ जनाबाट सुरु गरिएको प्लस टुमा कुनै बर्ष ३ सय ५० बढि विद्यार्थीलाई पढाइएको स्मरण गर्दै संख्यात्मक रुपमा नै हतोत्साही हुनुपर्ने कारण नरहेको बताए ।

विद्यालयका शिक्षक शोभाकान्त शर्माद्वारा सञ्चालित कार्यक्रममा शिक्षक अभिभावक संघको कृष्णबहादुर खड्का, सल्लाहकार समितिका संयोजक हरिबहादुर खड्का लगायतले शुभकामना व्यक्त गरेका थिए ।