सिद्धबाबामा पहिरो–३ को मृत्यु, १ घाइते

पोखरा, असोज ७ ।
पाल्पा–बुटवल सडक खण्डको सिद्धबाबामा पहिरो खस्दा तीन जनाको च्यापिएर ज्यान गएको छ । एक जना सामान्य घाईते भएका छन् । पहिरोमा परि रुरु गाउँपालिकाका ५१ वर्षीय तिलकराम भण्डारी, बलेटक्सार ४ का यमलाल ज्ञवाली र तिनाउ गाउँपालिका ४ पाल्पाका माधव रानाको ज्यान गएको हो ।
ज्ञवाली लु १ च ७९९४ नम्बरको कारका चालक हुन भने भण्डारी सोही कारमा सवार थिए । मृतक भण्डारीकी श्रीमती राधिका भण्डारी सामान्य घाइते भएकी प्रहरीले जनाएको छ । अर्का मृतक राना ना ३ ख ६१९१ नम्बरको ट्रकका चालक हुन् । सिद्धबाबा केही पर पहिरो खसेको हो । हिजो साँझदेखि ढुंगा खसेर अवरुद्ध भएको सडक बिहान एकतर्फी खुलेपछि रोकिएका साधनहरु गन्तव्यतर्फ जाँदै गर्दा पहिरो खसेको थियो ।
दुई जनाको घटनास्थलमै मृत्यु भएको हो भने अर्का एक जनाको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । पहिरोले सडक अवरुद्ध भएपछि दशैंका लागि पहाडी जिल्ला हिडेका यात्रुहरु बिहानदेखि अलपत्र परेका थिए । अहिले एकतर्फी सडक सञ्चालनमा आएको छ ।