सिक्लेसमा मुटु र मिर्गौलाको उपचार

पोखरा, पुस ८ ।
कास्कीको पर्यटकीय गाउँ सिक्लेसमा मुटु तथा मृगौला रोगको निशुल्क स्वास्थ्य शिविर गरिएको छ । स्व. गगन सिं गुरुङ स्मृती प्रतिष्ठानको आयोजना र सहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र भक्तपुरको प्राविधिक सहयोगमा शिविर गरिएको हो । गगन सिं गुरुङको पनि मुटुरोगकै कारण मृत्यु भएको थियो । मुटु र मृगौला रोगले कोही पनि अकालमा ज्यान गुमान नपरोस् भनेर उपचारको ब्यवस्था मिलाएको प्रतिष्ठानका प्रमुख संरक्षक हाईसुबा गुरुङले बताए ।

पहिलो पटक आयोजना गरिएको मुटु तथा मृगौला रोगको उपचार शिविरमा ३ सय १३ जनाले स्वास्थ्य जाँच गराएका छन् । पोखराबाट पनि स्वास्थ्य जाँचका लागी सेवाग्राही पुगेका थिए । शिविरबाट १०८ जनाले युएसजी, ९० जनाले ईसीजी गरेका छन् र ८० जनामा उच्च रक्तचापको समस्या देखिएको छ ।

रक्सी धेरै पिउने र लामो समय काम गर्नेहरुलाई उच्च रक्तचाप बढी भएको उपचारमा संलग्न डा. सन्तोष गुरुङले बताए । ‘काम गर्ने कुनै तालिका छैन । रक्सी जतिबेला पनि पिउनुहुन्छ । खानपिनका कारण पनि यस्तो हुन्छ, उनले भने–स्वस्थकर खाना भएपनि कति खाने भन्ने वहाँहरुलाई ज्ञान छैन । अधिकांशको तौल पनि अनुमान गरेभन्दा धेरै भेटिन्छ । यसले रक्तचाप बढाउन सघाउँछ ।’ दैनिक खानपान र काममा बिशेष ख्याल गर्न उनले सुझाए । शिविरका लागी शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपन केन्द्र भक्तपुरबाट ६ जना डाक्टर सम्मिलित २० जनाको प्राविधिक टोली सिक्लेस पुगेका थिए ।

शिविरमा गण्डकी प्रदेशका सांसद मनबहादुर गुरुङले स्वास्थ्य संस्था नहुँदा ग्रामिण क्षेत्रका जनताहरु झनै स्वास्थ्य समस्याले थलिनुपरेको बताए । ‘स्वास्थ्य चौकीहरु राम्रा छैनन् । डाक्टर आउँदैनन् । जनतालाई सानो रोग लाग्दा पनि उपचार गर्ने ठाउँ छैन, उनी भन्छन्–त्यसैले रोगजति आँफुभित्रै लुकाएर राख्नुपरेको छ । उपचार नै नपाई कतिले ज्यान गुमाउनुपर्छ ।’ नयाँ संरचना अनुसार सरकार गठन भैसकेकोले अव जनताको स्वास्थ्यमा पनि सरकारले विशेष चासो दिनुपर्ने र त्यसका लागि आँफूले पनि पहल गर्ने उनको प्रतिबद्धता छ । सिक्लेसका अगुवा यूवा देवीजङ गुरुङ पनि गाउँमै सुविधा सम्पन्न स्वास्थ्य संस्था ल्याउनुपर्ने बताउँछन् ।

‘स्वास्थ्य चौकी गाउँमै छ । तर डाक्टर र प्राविधिक कर्मचारीहरु छैनन् । भवन पूरै अलपत्र छ, उनले भने–यसलाई ब्यवस्थित स्वास्थ्य संस्थाको रुपमा सञ्चालन गर्नुपर्छ । हामी त्यसकै तयारीमा छौं ।’ स्वास्थ्य चौकी राम्रो नहुँदा गाउँमा आउने पर्यटकलाई कुनै समस्या पर्दा पनि पोखरा दौडाउनुपरेको उनको गुनासो छ । ‘गाउँकै मान्छेको उपचार गर्न शिविर कुर्नुपर्छ । बाहिरका मान्छे आएर विरामी पर्दा के होला ?, उनी भन्छन्–कहिलेकाहीँ हुने शिविरमा पनि मान्छेहरु धेरैले सुविधा पाएका छन् ।’ सरकारी निकायमा दवाव नपुगेका कारण स्वास्थ्य संस्था संचालनमा समस्या भएको उनी सुनाउँछन् । सिक्लेसमा एउटा स्वास्थ्य चौकी छ । तर दरबन्दी अनुसार कर्मचारी छैनन् ।