सामाजिक सुरक्षा भत्ता कटौति विरुद्ध पोखरामा काँग्रेसको विरोध

पोखरा, जेठ १२ ।
नेपाली काँग्रेसका प्रतिनिधिहरुले सरकारले गरेको सामाजिक सुरक्षा भत्ता कटौतिको निर्णय विरुद्ध प्रदर्शन गरेका छन् । सामाजिक दुरी पालना गर्दै उनीहरुले शान्तिपूर्ण प्रदर्शन गरेका हुन् । नेपाली काँग्रेसका पोखरा महानगरपालिकाका मेयर र उपमेयरका उम्मेदवार रामजी कुवँर र सरस्वती गुरुङको संयोजनमा विरोध कार्यक्रम गरिएको हो ।

‘यो बेला नागरिकलाई झनै बढि सामाजिक सुरक्षाको आवश्यक्ता छ । भत्तालाई देखाएर सत्तासीन भएको सरकारले भत्ता कटौति गर्ने निर्णय गर्नु दुखद हो,’ उपमेयरकी उम्मेदवार गुरुङले भनिन्, ‘यो निर्णय तत्काल खारेज होस् । भत्ता पाउने सबैलाई समयमै भत्ता उपलब्ध गराईयोस् ।’

आमाको नामबाट नागरिकता दिनुपर्ने, सामाजिक सुरक्षा ज्ञारेण्टी गर्नुपर्ने लगायत मागसहित प्लेकार्डहरु लिएर प्रतिनिधिहरु चिप्लेढुंगा स्थित विपी चोकमा जम्मा भएका थिए । स्थानीय तहका जनप्रतिनिधिहरु, तरुण दल, महिला संघ लगायत भ्रातृ संगठनका प्रमुखहरु प्रदर्शनमा सहभागी थिए ।

सरकारले गरेका गलत निर्णय विरुद्ध निरन्तर दवाव सिर्जना गर्ने मेयरका उम्मेदवार कुवँरले बताए । केही समयअघि सरकारले सामाजिक सुरक्षा भत्ता कटौति गरेको सूचनाहरु सार्वजनिक भएका थिए । गृह मन्त्रालय अन्तरर्गत राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागको २६ चैत २०७६ को निर्णय गरेर ६० वर्ष मुनिका एकल महिला (विधवा) र निलो कार्ड भएका अपांगता भएकाहरुको भत्ता कटौती हुने जनाएको थियो ।

त्यसप्रति अधिकारवादी विभिन्न संघसंस्थाले पनि विरोध गर्दै दबाबमूलक अभियान गर्न थालेका छन् । निर्णय नसच्याए पुनः आन्दोलन गर्ने गुरुङले बताईन् । प्रधानमन्त्री केपी शर्मा ओलीले भने कुनैपनि भत्ता कटौति नभएको दावी गरेका छन् । राष्ट्रको नाममा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।