सातै प्रदेशका मुख्यमन्त्री र प्रदेश प्रमुखलाई काठमाण्डाैंमा अावास बनाउने तयारी

काठमाण्डौं, कार्तिक ७ ।
सरकारले सातै प्रदेशका प्रदेश प्रमुख र मुख्यमन्त्रीलाई राजधानीमा आवास निर्माण गरिदिने भएको छ । सरकारले प्रत्येक प्रदेशको नाममा राजधानीको भैंसेपाटीमा २ रोपनी जग्गा दिएर आवास बनाइदिने तयारी गरेको हो । यस्तो आवास प्रदेश प्रमुख र मुख्यमन्त्रीले राजधानी आएका बेला प्रयोग गर्नेछन् ।

भैंसेपाटीमा सांसद आवास निर्माणका लागि छुट्टाइएको १ सय २३ रोपनी जग्गाबाट सात वटै प्रदेशका लागि जग्गा दिने तयारी भएको सहरी विकास मन्त्री मोहम्मद इश्तियाक राईले जानकारी दिए । संघीयता भएका मुलुकहरूमा प्रदेशका मुख्यमन्त्री र प्रमुखलाई केन्द्र सरकारले आवास उपलब्ध गराउने गरेका कारण आवास निर्माणको तयारी भएको उनले बताए ।

सांसद आवासकै उक्त जग्गामा राष्ट्रिय सभाका अध्यक्ष, उपाध्यक्ष, उपसभामुख र मन्त्रीको क्वाटर निर्माण गरिने राईले बताए । ‘२४ मन्त्रीका लागि अहिले नै मन्त्री क्वाटर अभाव छ’, राईले भने, ‘पुल्चोकमा रहेको मन्त्री क्वाटर पुरानो भैसकेको छ ।’

हाल प्रतिनिधि सभाका उपाध्यक्ष, सहरी विकास मन्त्री, सञ्चार मन्त्री, कानुन मन्त्री, स्वास्थ्य राज्यमन्त्री, खानेपानी मन्त्रीले पुल्चोकमा क्वाटर पाएका छैनन् । ‘क्वाटर अपर्याप्त छ’, राईले भने, ‘मन्त्री क्वाटर भएको ठाउँमा विदेशी राष्ट्रप्रमुखका लागि पाहुना गृह बनाउने छौं ।’

उनले सात वटासम्म विदेशी राष्ट्रप्रमुख र सरकार प्रमुख आएका बेला बस्न मिल्ने भवन बनाउने तयारीमा मन्त्रालय रहेको बताए ।–सेतोपाटी