साढे दुई महिनामा मन्त्री मनाङेको तेश्रो गोल

पोखरा, असार २७ ।
स्वतन्त्र सांसद राजीव गुरुङ (दीपक मनाङे) ले एउटै मन्त्रालयमा ह्याट्रिक गरेका छन् । बैशाख १६ गते पहिलो पटक पृथ्वीसुब्बा गुरुङ नेतृत्वको सरकारमा मन्त्री बनेका उनी गुरुङको राजीनामासँगै बैशाख २६ मा पदमुक्त भएका थिए ।

पुनः मनाङेलाई गुरुङले दोश्रो पटक सोही मन्त्रालयमा मन्त्री बनाए । मनाङेले सत्ता समिकरणमा बाटो मोडे र विपक्षी गठबन्धनमा लागे । सुरुमा उनी भौतिक पूर्वाधार विकास मन्त्रीको लोभमा थिए । उनको अन्तिम समयसम्म पनि दावी सोही मन्त्रालयमा थियो ।

तर मनाङेले तेश्रो पटक आइतबार युवा तथा खेलकुद मन्त्रालयकै जिम्मेवारी सम्हालेका छन् । उनकै भोटका कारण गण्डकीमा विपक्षी गठबन्धनले सरकार बनाउने मौका पाएका थिए ।

मनाङेसँगै जनता समाजवादी पार्टीका हरिशरण आचार्यले पनि मन्त्रालयको जिम्मेवारी लिएका छन् । उनी उर्जा, जलश्रोत तथा खानेपानी मन्त्री बनेका हुन् । दुवैजनाले आइतबार पदभार ग्रहण गरेका छन् ।