सागलाई सजिदै पोखरा रंगशाला (फोटो फिचर)

पोखरा, मंसिर ६ ।
दक्षिण एसियाली खेलकुद (साग) को १३ औं सुरु हुन ८ दिनमात्रै बाँकी छ । तर पोखरामा सागका खेल हुने मैदान अझै तयार भैसकेको छैन । पोखरामा सागका ९ खेल हुने राष्ट्रिय खेलकुद परिषद (राखेप) ले जनाएको छ । विशेष महत्व हुने महिला फुटवलका लागि मैदान निर्माणको काम अहिले धमाधम भैरहेको छ । अहिले प्यारापीट जडान र अन्य काम चलिरहेको छ ।

आगामी मंसिर १५ गतेदेखि २४ गतेसम्म काठमाण्डौ र पोखरामा सागका खेलहरु हुनेछन् । निर्माणाधीन पोखरा रंगशालाको बुधबार मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले समेत निरीक्षण गरेर समयमा काम सक्न निर्देशन दिए । तर राखेपले भने बजेट अभाव देखाएको छ । राखेप सदस्य राजेश गुरुङले सरकारले चासो नदिएको गुनासो गरे ।

२ दिनअघि फ्रान्सबाट फुटवल मैदानको प्यारापिटका सामान पोखरा रंगशाला आईपुगेको छ । अहिले धमाधम प्यारापीट जडान भैरहेको छ । . नोभेम्बर पहिलो साता नै सामान आउने भनिएपनि एकसाता ढिलो गरी सामग्री आएपछि अहिले साग खेलबारे शुभचिन्तहरु अझै ढुक्क छैनन् । निर्माण कम्पनीका प्राजेक्ट म्यानेजर दीपक बराल चाहीँ ५ दिनभित्रमा काम सकेर मैदान हस्तान्तरण गरिसक्ने दावी गर्छन् ।

उता मैदानमा रोपिएको दुवो समेत राम्ररी नसरेका कारण नयाँ दुवो मगाईएको छ । भारतीय कम्पनी ग्रेट स्पोर्टस र एम.ए कन्ट्रक्सन जवलाखेल ललितपुर (जे.भी)ले निर्माणको जिम्मा पाएको हो । पोखरामा साग अन्तर्गत महिला फुटबल, महिला क्रिकेट, र्आचरी, भारोत्तोलन, ट्रायथोलन, व्याडमिन्टन, विच भलिबल र ह्याण्डबल आयोजना गरिने छ । तीमध्ये कुनैपनि खेलको पूर्वाधार तयार भैसकेको छैन ।