सागमा हुने सबै खेलको खेलस्थल टुंगो लाग्यो, महिला फुटबलसहित आर्चरी, भलिबल, हृयाण्डबलका स्पर्धा पोखरामा हुने

काठमाडौं साउन १४ ।

आगामी मंसिर १५ बाट नेपालमा सुरु हुने १३ औ दक्षिण एसियाली खेलकुद सागमा समावेश सबै २७ खेलको खेलस्थल तय भएको छ । प्रतियोगिता आउन ४ महिना अघि राष्ट्रिय खेलकुद परिषद राखेपले प्रतियोगितामा समाबेश खेलको खेलस्थल निर्धारण गरेको हो ।

काठमाण्डौ र पोखरामा हुने प्रतियोगिताका २० खेल काठमाण्डौ र बाँकी ७ खेल पोखरामा हुने छ । पोखरामा महिला फुटबलसहित आर्चरी, भलिबल, हृयाण्डबलका स्पर्धा हुनेछन् । पोखरा रंगशालामा हुने यी चार खेलबाहेक सभा गृहमा भारत्तोलन, लेकसाईडमा ट्रायथलन र प्याराग्लाईडिङका खेल सञ्चालन हुने राखेपले जनाएको छ ।

ललितपुरको सातदोबाटोमा कराँते, बक्सिङ, तेक्वान्दो र कुस्तीका खेलहरु सञ्चालन हुनेछन् । त्यस्तै, सुटिङ, पौडी, स्क्वास र टेनिसका खेलहरुपनि एन्फा कम्प्लेक्समै हुनेछ । निर्माणाधिन दशरथ रंगशालामा पुरुष फुटबल सहित एथ्लेटिक्सका अधिकांश स्पर्धा हुनेछन् ।

साईकिलिङको स्पर्धा भने जगडोलमा हुनेछ । त्रिपुरेश्वरस्थित कभर्डहलमा बास्केटबल र व्याटमिन्टनका खेलहरु हुनेछ । लैनचौरमा टेबुलटेनिस मुलपानी र कीर्तिपुरमा क्रिकेटका खेलहरु सञ्चालन हुनेछ । भृकुटीमण्डपमा खोखो र कबड्डी, गोकर्ण गल्फ क्लबमा गल्फ र उसु तथा लगनखेलस्थित आर्मीको कभर्डहलमा तेक्वान्दोका खेलहरु सञ्चालन गर्ने राखेपले जनाएको छ ।

राखेप सदस्य सचिव रमेश सिलवालसहित प्राविधिकको टोलीले अनुगमनपछि प्रतियोगिता स्थल तय गरेको हो । (रेडियो कान्तिपुर)