सागका लागि ह्याण्डबलको बन्द प्रशिक्षण पोखरामा शुरु

पोखरा, साउन १९ ।

नेपालमा आयोजना हुने १३ औं दक्षिण एशियाली खेलकुद (साग) अन्र्तगत ह्याण्डबल खेलको बन्द प्रशिक्षण पोखरामा शुरु भएको छ ।

राष्ट्रिय खेलकुद परिषदका राजेश गुरुङले प्रशिक्षकद्वय अरुणलाल कर्ण र टेक बहादुर विश्वकर्मालाई बल हस्तान्तरण गरि बन्द प्रशिक्षणको शुभारम्भ गरेका हुन् ।

प्रशिक्षणको शुभारम्भ गर्दै राष्ट्रिय खेलकुद परिषदका सदस्य राजेश गुरुङले खेलाडीहरुलाई शुभकामना दिंदै राष्ट्रिय गौरब बढाउन ह्याण्डबल खेलले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताए ।

केही परिषदका कर्मचारीहरुले राज्यको तलब सुविधा लिएर साग हुँदैन भन्ने हल्ला फैलाएको प्रति रोष प्रकट गर्दै उनले तोकिएकै मितीमा नेपालमा साग हुनेमा कुनै शंका नगर्न आग्रह गरेका छन् । उनले खेलाडी र प्रशिक्षकलाई भत्ता लगाएतका सुविधाहरु थप गर्न परिषदले गृहकार्य थालेको समेत जानकारी दिएका छन् ।

त्यस्तै नेपाल ह्याण्डबल संघका अध्यक्ष तेज गुरुङले खेलाडीलाई आफ्नो अनुशासनमा रहि पदक जितेर राष्ट्रिय गौरव बढाउन ह्याण्डबल खेलाडीलाई आग्रह गरे ।

साग अन्तरगत बन्द प्रशिक्षणका लागि २८ महिला र २८ पुरुष गरि ५६ जना खेलाडीहरु पहिलो चरणको छनोटमा परेका छन ।
सागको महिला तथा पुरुषको ह्याण्डबल खेल पोखरा रंगशाला स्थित बहुउद्देश्यि कभर्डहलमा २०७६ मंसिर १५ देखि २४ सम्म हुनेछ ।