सागका लागि विच भलिबलको काम तिब्र, सरसफाई पनि सुरू गरिने

 

पोखरा, कार्तिक २१ ।

नेपालमा यहि मंसिर १५ देखि २४ गते आयोजना हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तरगत पोखरामा हुने विच भलिबल मैदान निर्माण कार्यलाई तिब्रता दिनुका साथै सरसफाई पनि सुरू गरिने भएको छ ।

पोखरा बाराहीघाट स्थित विच भलिबलको क्षेत्रसंगै फेवाताल किनारको भागलाई जलकुम्भी झार समेत निकाल्ने कार्यलाई तिव्रता दिन पोखरा महानगरपालिकाले सघाउने भएको कास्की जिल्ला भलिबल संघका अध्यक्ष भिम पराजुलीले जानकारी दिए ।

उक्त क्षेत्रको सरसफाईको अभियानको नेतृत्व भने डुङ्गा व्यवसायी संगठनले लिएको छ । उक्त सरसफाई अभियान संगै रंग–रोङ्गन संगै उक्त क्षेत्रमा विग्रेका बत्तिहरुलाई समेत व्यवस्थित बनाइने उक्त संगठनका अध्यक्ष बुद्धी बहादुर नेपालीले बताए । ‘हामी पोखरा महानगरको सहयोगमा आइतबारबाट काम थाल्ने छौं’ अध्यक्ष नेपालीले भने–‘सागलाई भव्यताका साथ सम्पन्न गर्न डुङ्गा व्यवसायी आतुर छन् ।’

फेवातालको सुन्दरता बढाउन रोपिएका रुखहरुलाई काँट–छाँट गरि थप सुन्दरता बढाइने नागरिक समाजका अगुवा रामबहादुर पौडेलले बताए । उनले भने –‘१३ औं साग सम्पन्न गर्न हामी सबै पोखरेलीहरुको काँधमा जिम्मेवारी आएको छ, यो हामी सबैको लागि ठूलो अबसर समेत हो ।’ उनले डुङ्गा ब्यवसायीहरु संग मिलेर नागरिक समाजले सरसफाईको काममा सघाउने बताए ।

सरसफाई लगाएत उक्त क्षेत्रमा गर्नुपर्ने कामका लागि के कसरी महानगरपालिकाले सघाउन सक्छ भन्नका लागि महानगरका कार्यबाहक कार्यकारी अधिकृत गंगा सुबेदी समेत बिहिबार अनुगमनका लागि पुगेका थिए । ‘महानगर साग आयोजनालाई भब्यता दिन र फेवातालको सरसफाई संगै अन्य अभियानका काममा साथ दिनेछौं,’ उनले भने । उनले फेवातालबाट सरसफाईको क्रममा निकालिएको जलकुम्भी र अन्य फोहोरलाई व्यवस्थापन गर्न महानगरले सहयोग गर्ने बताए ।

यता विच भलिबलको काम समेत अन्तिम चरणमा पुगेको संघका अध्यक्ष पराजुलीले बताए । विच भलिबलका लागि आवश्यक पर्ने ८ सय ४० घन मिटर बालु वाल्याउन सुरू गरिने उनले जानकारी दिए । आगामी मंसिर १९ देखि २४ गते महिला पुरुष विच भलिबलका लागि ३ वटा प्लेइङ्ग र एउटा प्रशिक्षणका लागि गरि चार वटा कोर्टहरु तयार भइसक्ने उनले बताए । राष्ट्रिय खेलकुद परिषदको ५० लाखको सहयोगमा पोखरामा तिकोर्टहरु निर्माण भएका हुन् भने त्यस शौचालय निर्माणको काम सकिएको र संगै खेलाडी चेन्जिङ रुम मर्मतको काम पनि २÷३ दिनमा सकिने उनले जानकारी दिए ।