साउदीमा तेल र ग्यास उत्पादनमा कटौती, आक्रमणको जिम्मा हुथी विद्रोहीले लियो

 

एजेन्सी, भदौ २९ ।

साउदी अरेबियाले तेल र ग्यास उत्पादनमा कटौती गरेको छ ।

सरकारी स्वामित्वमा रहेका अरामकोकास्थित दुईवटा तेल कम्पनीमा ड्रोन आक्रमण भएपछि साउदीले तेल र ग्यास उत्पादनमा कटौती गरेको हो ।

साउदीका उर्जामन्त्री प्रिन्स अब्दुलाजीज बीन सलमानले तेलको उत्पादनमा प्रतिदिन ५ दशमलव ७ मिलियन ब्यारलले कटौती गरेको जानकारी दिएका छन् ।

यमनका हुथी विद्रोहीका प्रवक्ताले तेल कम्पनीमा भएको आक्रमणको जिम्मा लिएका छन् ।

उनले आक्रमणमा १० वटा ड्रोन प्रयोग भएको बताएका छन् । तेल कम्पनी र प्रशोधन केन्द्रमा ड्रोन आक्रमण हुँदा भीषण आगलागी भएको थियो ।

उक्त तेल प्रशोधन केन्द्र संसारकै सबैभन्दा विशाल तेल प्रशोधन रहेको र सो प्रशोधन केन्द्रहरुबाट दिनको १५ लाख ब्यारेल कच्चा तेल उत्पादन हुँदै आएको थियो ।

यसअघि सन् २००६ मा अबकाइसमा रहेको तेल प्रशोधन केन्द्रमा अल कायदाको आक्रमण प्रयासलाई साउदी सुरक्षा बलले विफल तुल्याएको थियो ।

साउदीले अरामबाट मात्रै वर्षमा १ सय ११ अर्ब डलर बराबरको कमाई गर्दै आएको छ ।