साउथ एसियन सेभेन ए साईड फुटवल–माल्दिभस र भुटानको टीम नै नक्कली

पोखरा, पुस ३० ।

पोखरामा शनिबारदेखि जारी साउथ एसियन सेभेन ए साईड फुटवल प्रतियोगितामा सहभागी माल्दिभस र भुटानको पूरै टीम नक्कली भएको सार्वजनिक भएको छ । माल्दिभस र भुटानको फुटवल एशोसियनले नक्कली टीमले फुटवल खेलेको बताएको छ । दुवै देशका फुटवल एशोसियनले आफ्नो देशमा कुनैपनि सेभने ए साईड फुटवल एशोसियन नभएको भन्दै आफ्नो देशको नाममा खेलेका खेलाडीहरु नक्कली भएको प्रमाणीत गरेको हो ।
‘नेपालमा भुटानको सेभेन ए साईड टीमले खेलेको भन्ने सुन्दा अचम्म लाग्यो । भुटानमा त्यस्तो सेभेन ए साईडका लागि कुनैपनि एशोसिएसन छैन, नत राष्ट्रिय टीम नै बनेको छ, भुटान फुटवल एशोसियसनका अफिसियल सोनाम जट्टुले भने–अहिले खेलिरहेका खेलाडी भुटानका होईनन् । हामी यो बिषयमा अनविज्ञ छौं ।’ माल्दिभस फुटवल एशोसियनका सचिव जवाजले पनि माल्दिभसका नाममा खेलेका खेलाडीहरु नक्कली भएको बताएका छन् ।
सेभेन ए साइड फुटवल प्रतियोगिता अफिसियल नभएको पश्चिमाञ्चल खेलकुद विकास समितिका अध्यक्ष खगराज पौडेलले बताए । ‘यो गेम नन अफिसियल हो । त्यसैले हामीसँग पनि सम्बन्ध हुँदैन, उनले भने–अफिसियल गेम भएको भए पोखराले दर्शक धान्न सक्ने अवस्था हुँदनथ्यो । के भएको हो म पनि बुझौंला ।’
नेपाल सेभेन ए साईड फुटवल फेडेरेसनका अध्यक्ष नवीन पुनले आँफुहरुले प्रतियोगिताको संयोजन र ब्यवस्थापन मात्रै गरेको भन्दै टीमको बैधानिकता बारे जानकारी नभएको बताए । ‘प्रतियोगिताको आयोजना साउथ एसियन सेभेन ए साइड फेडेरेसनले गरेको हो । हामीले प्रतियोगिताको पोखरामा म्यानेज गरेका हौं, उनले भने–सम्बन्धित देशका खेलाडी हुन् वा होईनन् हामी यसबारे केही भन्न सक्ने अवस्थामा छैनौं ।’ भुटान र माल्दिभसको टीममा भारतीय खेलाडीहरु रहेको श्रोतको भनाई छ ।
अन्तराष्ट्रिय प्रतियोगितामा यति ठूलो गल्ती हुँदा पनि सम्बन्धित निकाय मौन हुँदा राष्ट्रियता र विश्वासनियता माथी नै प्रश्न उठ्न थालेको सरोकारवालहरु बताउँछन् । शनिवारदेखि पोखराको लेकसाईड स्थित बाराहीघाटमा प्रतियोगिता जारी छ । प्रतियोगितामा नेपाल, भुटान, माल्दिभस, पाकिस्तान, भारत र बंगलादेश गरी ६ टीम सहभागी छन् । भारतले टुर्नामेण्टमा विदेशी नाम राखेर आफ्ना खेलाडी खेलाउने गरेको विगतदेखि कै समस्या हो ।